काठमाडौँ । चर्चित हास्यव्यंग्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई यस वर्षको विष्णुभक्त संगकर्मी सम्मान पुरस्कार प्रदान गरिएको छ । विष्णुभक्त तारादेवी स्मृति गुठीद्वरा राजधानी काठमाडौँमा आयोजित विष्णुभक्त तारादेवी स्मृति सभाको अवसरमा चम्सुरीलाई सो सम्मान प्रदान गरिएको हो ।
विष्णुभक्त तारादेवीको पाँचौ स्मृतिको अवसर पारेर आयोजना गरिएको सो स्मृति सभामा करिब तीन दशकदेखि कलाकारितामा संलग्न चम्सुरीलाई २० हजार नगदसहित सम्मान गरिएको विष्णुभक्त तारादेवी स्मृति गुठीले बताएको छ ।
राष्ट्रिय नाचघरमा पाँचवर्ष पहिले प्रदर्शन गरिएको नाटक यज्ञ बल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै कलाकार विष्णुभक्त फुँयालाको निधन भएको थियो । कलाकारितामा करिब पचास वर्ष बिताएका वरिष्ठ रंगकर्मी विष्णुभक्त फुँयालको स्मरणमा सो पुरस्कार स्थापना गरी हरेक वर्ष स्मृति सभा आयोजना गरी यस्तो सम्मान गरिंदै आएको छ ।
यसभन्दा पहिले सो पुरस्कार कलाकारहरु राजेन्द्र गडतौला, लक्ष्मणसिंह बस्नेत र रमेश केसीलाई प्रदान गरिएको थियो । यस वर्ष कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई सम्मान गर्नका लागि विष्णुभक्त रंगकर्मी सम्मान एवम् तारादेवी युवा नारी प्रतिभा छात्रवृत्ति कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजना गरिएको कार्यक्रममा गुठीका सदस्य एवम् कलाकार फुँयालका छोरा कमल फुँयालले बुवा विष्णुभक्त फुँयालले कलाकारिताको माध्यमबाट सामाजिक रुपन्तारनमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा तारादेवी युवा नारी प्रतिभा छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।