• मंसिर २० २०८१, बिहीबार

त्यो बाघ हैन, बाघछाला हो

पुष २० २०७८, मंगलवार

त्यो बाघ हैन, बाघछाला हो
अचम्म किन ? त्यो बाघ हैन
त्यो त बाघको छाला हो
त्यो छालाभित्र भुस भरिएको छ
भुस भरिएको बाघछाला
कहाँ गर्जन्छ र डमरु ?
हो डमरु हो, त्यो बाघ हैन
त्यो त बाघछाला हो
बाघ त उहिले नै मरेको थियो
जहिले स्यालको पासोमा परेको थियो ।
अबको बाघ तिमी हौ, डमरू तिमी !

तिमी गर्जनु पर्छ डमरु
तिमीले गर्जन छोड्नु हुँदैन डमरु
तिम्रो गर्जन फरक हुनैपर्छ डमरु
तिमी अब डमरु मात्रै होइन
तिम्रो काँधमा बाघ बन्ने
जिम्मेवारी आएको छ
तिम्रो गर्जनबाट मुलुकले
क्रान्ति र शान्ति मागेको छ ।
यहाँ हजारौं बाघमुखे स्यालहरुले
प्रतिगामी बाटो लिंदैछन्
यहाँ लाखौं स्यालहरु
रङ्गिएर बाघ हुँ भन्दैछन्
यहाँ मुलुकलाई तिनले
यथास्थितिमा अड्काएका छन्
यहाँ देशमा दाह्रा र नङ्ग्रा गाड्दैछन् ।
अब एक गर्जनबाट
अब हरेक कदमबाट
बाघमुखे स्यालहरूको
अन्त्येष्टि चाहिरहेका छन् ।
त्यसैले डमरु तिमीले बाघ बन्न
अग्रगामी मार्गदर्शनमा हिँड्नुपर्छ
अबको गर्जन झन् फरक हुनैपर्छ ।

तिम्रो फरक पहिचानबाट
क्रान्ति पूरा हुनुपर्छ
सुनौलो बिहानी आउनु पर्छ
स्वाधीनता र समृद्धि छाउनुपर्छ
यसका लागि तिमीले
ती बाघमुखे स्यालहरुको
सिकार गर्नुपर्छ
इतिहासमा असत्यको राज्य
बदल्न सक्नुपर्छ
तिनको नाम निसान मेटाउनु पर्छ
त्यसपछि इतिहासको
नयाँ अध्याय सुरु हुन्छ ।