• असार १८ २०८१, सोमबार

अष्ट्रेलियाको रोजल्याण्ड गुलाबझैं फुलेकी नेपाली चेली भद्रा वाइवा

पुष २० २०७८, मंगलवार

अष्ट्रेलियाको एक नगर परिषद सदस्यमा सिन्धुलीकी भद्रा वाइवा विजयी भएपछि नेपालीको निकै आकर्षक गन्तव्य बनिरहेको देश अष्ट्रेलिया अबका दिनमा कर्मथलोमा बन्दै जाने सकारात्मक सङ्केत देखिएको छ । वाइवा रोजल्याण्ड नगरपरिषद्मा त्यहाँको प्रतिपक्षी लेबर पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा उमेदवार बनेकी थिइन् ।

अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नौ जना नेपालीमूलका उमेदवार मैदानमा उत्रिएका थिए । तर लेबर पार्टीबाट नगर सदस्य (काउन्सिलर) मा उम्मेदवार दिएकी भद्रा वाइवाले मात्र विजयको सौभाग्य प्राप्त गरेकी थिइन् । नेपालको सिन्धुली जिल्लामा घर भएकी वाइवा बैंकस्टाउन काउन्सिलको रोजल्यान्ड वडाको काउन्सिलर भएकी छिन् ।

त्यो वडामा लेबर पार्टीले एकलौटी विजय हासिल गरेको छ । कोभिड–१९ का बेलादेखि हाल पनि अष्ट्रलियाली जनताको जीवन रक्षाका लागि अहोरात्र खटिरहेकी वाइवा त्यहाँको अग्रपंक्तिकी नर्स हुन् ।

सन् २००८ मा अष्ट्रेलिया पुगेकी उनी त्यसको पाँच वर्षपछि सन् २०१३ देखि लेबर पार्टीको स्थानीय तहमा क्रियाशील हुँदै आएकी छिन् । उक्त पार्टीमा उनी रिभरउड कम्युनिटीको ‘बोर्ड अफ डिरेक्टर’ मा रहेकी छिन् ।

आप्रवासनको लहर चलेसँगै अहिले अष्ट्रेलियामा संसारका विभिन्न मूलका मानिस बसोबास गर्दै आइरहेका छन् । विश्व मानव समुदाय बन्ने यो क्रमसँगै अष्ट्रेलिया नेपालीको कर्मथलोमा पनि रुपान्तरण हुँदै जान थालेको छ ।

नेपालीहरु यस पटकको निर्वाचनमा मात्र होइन, योभन्दा पहिलेको संघीय निर्वाचनमा समेत उमेदवारी दिने र स्वस्थ निर्वाचन प्रतिस्पर्धामा उत्रने गर्दै आएका छन् । तर विजय हासिल गरेको भने यो नै पहिलो पटक हो ।