• बैशाख १३ २०८२, शनिबार

नेकपा माओवादी केन्द्रमा केन्द्रिय समिति सदस्य संख्या थपिदै

पुष २० २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको हलमा केन्द्रीय सदस्य संख्या २२६ जना रहने गरी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नाम वाचन गरे पनि सम्मेलनमा निर्वाचित केन्द्रिय समिति वैठकसम्म आइपुग्दा केन्द्रिय सदस्यको संख्या थपिदै गैरहेको छ ।

आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्रको हलमा प्रचण्डले २२६ जनाको नाम बाचन गरेका थिए । त्यसको अर्को दिन सार्वजनिक गरिएको केन्द्रिय समितिको नामावलीमा थप २० जनाकोे नाम थपिन पुगी २४६ जनाको नामावली सार्वजनिक गरिएको थियो ।

सुझावका आधारमा २० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले प्रष्टिकरण पनि दिएको थियो । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय रहने व्यवस्था गरेको छ ।

केन्द्रिय समितिमा पूरा हु्न बाँकी रहेका सदस्य क्रमशः अध्यक्षबाट मनोनयन गरिने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार २९९ सदस्य संख्या नपुग्दासम्म केन्द्रिय सदस्यको संख्या हालको संख्यामा बढिरहने छ ।

हलमा निर्वाचित र त्यसपछि थपिएका सबै २४६ जना केन्द्रिय समिति सदस्यहरुले सोमबार नै सपथ लिइसकेका छन् । स्रोतका अनुसार अब थपिनेहरुले क्रमशः बस्दै जाने केन्द्रिय समिति वैठकहरुमा सपथ लिंदै जाने लचकतापूर्ण व्यवस्था गरिएको छ ।

पुस २५ गते बस्ने भनिएको केन्द्रिय समिति वैठकसम्म केही मनोनित सदस्य संख्या थपिइसक्ने छन् । अरु पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने तथा कतिपय साना पार्टीसँग पार्टी एकीकरण हुनसक्ने संभावनालाई मध्यनजर गरी पार्टी अध्यक्ष प्रचण्डलाई केन्द्रिय समिति सदस्य संख्या मनोनयन गर्ने अधिकार दिइएको छ ।