• बैशाख १४ २०८२, आईतवार

क्रान्तिकारी पार्टी बनाउन ‘क्रमभङ्ग’ गर्‍यौं : अध्यक्ष प्रचण्ड 

पुष १९ २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई क्रान्तिकारी बनाउन क्रमभङ्ग गरेको बताएका छन् । पार्टी अध्यक्ष निर्विरोध भएपछि प्रचण्डले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।

उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’

तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।

माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहङ्गम रूपमा छलफल भएको बताउँदै उनले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गरे।

”माओवादीलाई क्रान्तिकारी, सर्वाहारा, उत्पीडित जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ‘क्रमभङ्ग’ गरेको उल्लेख गर्दै उनले राष्ट्र र जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ऐतिहािसक सङ्कल्प लिइएको बताए।