• मंसिर १७ २०८१, सोमबार

चङ्गाबाट बिजुली निकाल्दा भयो चमत्कार

पुष १९ २०७८, सोमबार

काठमाडौँ । उर्जा र बिजुलीको कुरा गर्दा यसका विकल्पहरुका बारेमा हाम्रो देशमा मात्रै होइन, संसारभर चर्चा हुने गरेको देखिन्छ । हाम्रो देश नेपालमा पानीबाट विद्युत निकाल्ने प्रविधि सबैभन्दा सजिलो र आयआर्जनको हिसाबले धेरै किफायती रहेको छ ।

नेपाल पानीको स्रोतको संसारमै दोस्रो ठुलो देश भएकाले पनि यहाँ पानीबाट बिजुली निकाल्न सजिलो छ । पानीबाट बिजुली अर्थात् जल विद्युत नेपालको प्रमुख आम्दानीको स्रोत नै हो । तर बेला बेलामा हाम्रो देशमा पनि विद्युत स्रोतका विभिन्न उपायहरूबारे समेत बहस र छलफल भएको पाइन्छ ।

कसैले हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर लागिरहेका देखिन्छन् भने कोही पानीबाट त कोही अरु कुनै उपायहरुबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर लागिरहेका देखिन्छन् । बिजुली निकाल्ने यस्तै विभिन्न उपायहरुमध्ये मानिसले उडाएको चङ्गाबाट समेत बिजुली निकाल्न सकिन्छ भनेर हालै स्कटल्याण्डका एक इन्जिनियरले सफल परिक्षण गरेका छन् ।

स्कटल्याण्डका रड रिड नाम गरेका आविस्कारकले हालै चङ्गाबाट समेत बिजुली निकाल्न सकिन्छ भनेर सफलतापूर्वक प्रयोग गरी देखाएका छन् । उनले यसरी हामीले उडाएको चङ्गाबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर देखाउन स्विण्डस्वेप्ट एण्ड इन्ट्रेस्टिनबाट आफूले यो काम सम्पन्न गरेको बताएका छन् ।

चङ्गाबाट बिजुली निकाल्ने वैज्ञानिक रड रिड

स्कटल्याण्डका टापुमा रड रिडले टर्बाइन चङ्गा प्रविधि भनेर आफ्नो प्रयोगशाला जडान गरेका छन् । उनले भनेका छन्, ‘हावामा उड्ने टर्बाइनहरु हुन्, ती टर्वाइन फनफनी घुम्दा जमिनमा भएको जेनेरेटरले विद्युत उत्पादन गर्छ ।’

उनले चङ्गाबाट निकालेको विद्युतबाट सफलतापूर्वक विद्युतीय गाडीलाई चार्ज गरेका छन् भने एउटा सानो भाँडामा पानी पनि उमाल्न पुग्ने गरी उर्जा उत्पादन गरेका छन् ।

चङ्गा आकासमा १० किलोमिटर माथिसम्म उड्न सक्ने भन्दै उनले आकासमा धेरै क्षेत्र ओगट्ने गरी त्यसलाई ठुलो पार्न सकेको खण्डमा एउटा पूरै परिवारलाई पुग्ने बिजुली निकाल्न सकिने उनको दाबी छ । यस विधिबाट जलवायुलाई निक्कै कम असर गरेर बिजुली निकाल्न सकिने उनको भनाइ रहेको छ ।