• मंसिर १२ २०८१, बुधबार

पोखरामा बढ्यो पर्यटकको चहलपहल

पुष १९ २०७८, सोमबार

कास्की । कोरोनाका कारण थला परेको पोखराको पर्यटन विस्तारै गतिशील बन्दै गएको छ ।  हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको हो ।

अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढेको हो । पर्यटकको चहलपहल बढेपछि व्यवसायीहरुमा थप आशा जगाएको छ ।

कोरोनाले थलिएको पर्यटन विस्तारै चलायमान हुन थालेको र अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एशोसिएशनद्वारा गर्दै आएको सडक महोत्सवका कारण पनि यो समय स्वदेशी एवं विदेशी पर्यटकको पोखरामा आकर्षण बढ्ने गरेको छ । पोखरामा पर्यटकस्तरीय एक हजार होटेल रहेकामा लेकसाइड आसपासका क्षेत्रमा सात सय होटेल रहेको जानकारी दिँदै उनले यहाँका होटलमा ३० हजारभन्दा बढी बेड रहेको बताए ।

अंग्रेजी नयाँ वर्षमा क्षमताको करिब ८० प्रतिशतसम्म होटेल पर्यटकले भरिएको उनले जानकारी दिए । कोरोनाको महामारी पश्चात पहिलोपटक यतिका सङ्ख्यामा पर्यटक भरिएको जनाउँदै उनले भारतीय पर्यटकको बढ्दो आकर्षले आफू उत्साहित बनेको बताए ।

पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका थिए ।

पोखरा आएका भारतीय पर्यटक धेरैजसोले उहीँबाट सवारी साधन लिएर आएको र कतिपय मोटरसाइकलमा समेत आएको व्यवसायी बताउँछन् ।