• असार १८ २०८१, सोमबार

११९औं वर्षको अवसरमा ह्याप्पी वर्थ डे, हजुर आमा !

पुष १९ २०७८, सोमबार

काठमाडौँ। संसारकै सबैभन्दा जेठो नागरिक केन तानाकाले आइतवार आफ्नो ११९औं जन्मोत्सव भव्य रुपमा मनाएकी छिन् । जापानकी तानाका आफै सचेत रुपमा बर्थ डेमा सहभागी हुन पाउँदा आफू भाग्यमानी भएको शुभसमाचार पनि सबैलाई बाँडेकी छिन् ।

पछिल्लो समयमा आएको ओमिक्रोनको त्रास र आतंकले उनी अहिले एउटा नर्सिङ होममा कैद हुन पुगेकी छिन् । उनलाई यो नराम्रो लागे पनि समय र परिस्थितिले समाजमा सशरीर शुभकामना बाँड्न दिएको छैन । उनी भिजुअल रुपमा भने विश्वभर छाएकी छिन् ।

तानाकाका लागि जापानको नर्सिङ होममा आयोजित बर्थडेसँगै यो उनको घरजस्तै बनेको छ । उनको बर्थडेमा त्यहाँका कर्मचारी परिवारका सदस्य झैं सहभागी हुन पुगेका थिए । उनको आँखा अगाडि उभिएर ‘ह्याप्पी बर्थडे !’ भन्नेमा उनीहरु नै थिए ।

कोरोनाभाइरस र यसको पछिल्लो उत्परिवर्तित भेरियन्ट ओमिक्रोनका कारण प्रतिबन्ध लगाइएपछि जापानका ज्येष्ठ नागरिक घरको आइसोलेसन तथा अस्पताल र नर्सिङ होमामा रहँदै आएका छन् । आइसोलेसन वा अस्पताल र नर्सिङहोम उनीहरुका लागि संक्रमणकालीन ‘हेल्थ शेल्टर’ बनिरहेका छन् ।

हाल ११९ वर्ष पुगिसकेकी तानाकाको जन्म सन् १९०३ मा भएको थियो । त्यति बेलाको जमानामा समाजमा चलेको प्रचलन अनुसार तानाकाले १९ वर्षको उमेरमा बिबाह गरेकी थिइन् । समय क्रमसँगै जापानले चीनमाथि आक्रमण गर्दा उनका श्रीमान र छोरा सन् १९३७ को जापान–चीन युद्धमा चीनविरूद्ध लड्न पुगेका थिए ।

समकालीन विश्वमा सबैभन्दा बढी ज्येष्ठ नागरिक जापानमा रहेका छन् । त्यहाँ सय वर्षमाथिका मानिसको संख्या ८६ हजारभन्दा बढी छ । यीमध्ये १० हजार पुरूष छन् भने अरू सबै महिला छन् । जापानमा औसत आयु महिलाको ८७।७४ वर्ष छ भने पुरूषको ८१।६४ वर्ष छ ।

सन् १९६३ को तथ्याङ्क अनुसार जापानमा १ सय वर्ष माथिका मानिसको सङ्ख्या १५३ जना मात्रै थियो । यो नै जापानको पहिलो तथ्याङ्क थियो । सन् १९९८ मा ज्येष्ठ नागरिकको त्यो संख्या बढेर १० हजार नाघेको थियो ।

हाल जापानमा युवाहरूको जनसंख्या घट्दै गैरहेको छ भने वृद्धवृद्धाको संख्या बढेर गैरहेको छ । त्यसैले गर्दा पनि घरेलु नर्सिङका रुपमा नेपाल लगायतका देशहरुबाट जापानमा स्वास्थ्य जनशक्तिको उच्च माग भैरहेको छ ।
(एजेन्सीको सहयोगमा)