• मंसिर २० २०८१, बिहीबार

संसदका कुरा गरे पनि अझैं मझधारमा माओवादी केन्द्र

पुष १९ २०७८, सोमबार

आठौं महाधिवेशनबाट माओवादी केन्द्र सापेक्ष प्रजातान्त्रिक बाटोमा अघि बढेको महसुस हुन गएको छ । यसले लिएको वैचारिक बाटो, सहभागी राज्यप्रणाली, पार्टीको आन्तरिक संरचनागत ढाँचाकाँचा, महाधिवेशनमा अभिव्यक्त मतअभिमत तथा केन्द्रीय समिति चयनमा अपनाइएका विधि प्रक्रियालाई नियाल्दा यो पार्टी विगतको तुलनामा हालको समानुपातिक, समावेशीमूलक राज्य प्रणाली अनुकूल हुँदै जान थालेको आभाष दिलाएको छ ।

समानुपातिकता र समावेशिताको नारा उठाएसँगै शान्ति प्रक्रियामा आएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासका लागि तयार भएको माओवादी केन्द्र केही समयसम्म दोधारे राजनीतिमा अल्झिइराख्यो । यसको मुख्य कारण थिए यसको युद्धकालीन स्कूलिङ र बदलिएको परिस्थितिमा यो पार्टीको मुख्य नेतृत्वको सोचमा उदाएको मझधारे प्रवृत्ति ।

‘यता भए पनि ठीक र उता भए पनि ठीक’ या संसदीय सत्तामा पनि सहभागी भैरहने र कार्यकर्तालाई पनि भुलाइराख्ने अवसरवादी सोचले यो समस्या निम्त्याएको थियो । यस कारणले पनि यो पार्टीलाई आफ्नो कित्ता क्लियर गर्नु जरुरी थियो । यसपटक उक्त पार्टीका अध्यक्ष प्रचण्ड आफैले ‘चुनावबाट बहुमत पाउँदा पनि बिद्रोहको कुरा गरेको’ भनी आत्मालोचना गरेर संसदीय बाटो र प्रक्रियातिर आफूलाई सोझ्याउन पुगेका छन् ।

यसले अबका दिनमा समकालीन नेपाली राजनीतिमा माओवादी केन्द्रका लागि ‘दुविधाको बाटो’ अन्त्य गरिदिएको छ । तर पनि यो निर्णय निकै ढिला गरी लिइएकाले माओवादी केन्द्रले सोचेको झैं छोटो समयमा गति लिन भने निकै समस्या पर्ने छ ।

सरकार पनि चलाइसकेको र वर्तमानमा जनताले चाहेजस्तो गरी गति लिन पनि नसकेकाले संसदीय जनउभार हुँदाका बखत ‘क्रान्ति’ र ‘विद्रोह’का कुरा र अहिले पार्टी राजनीति तथा नेताहरुका कारण जनतामा केही बढी वितृष्णा उत्पन्न भैरहेका बेलामा संसद र प्रजातन्त्रका कुरा विरोधाभाष हुन पुग्ने स्पष्ट देखिन्छ ।
यस्तो बेलामा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘सापेक्ष जनमुखी’ बनाउन अभ्यास नगरी ‘समाजवाद निर्माण’को बाटोमा भन्ने नारा दियो भने जनताले उल्टै ‘क्रान्ति’ र ‘विद्रोह’ बुझ्ने छन् । यो अहिले माओवादी केन्द्रले लिएको संसदीय प्रजातान्त्रिक बाटोको ठीक विपरीत हुनजाने छ ।

यसमा ‘मनमनै क्रान्ति र मुखमा शान्ति’ भनी दिएको स्कुलिङले प्रचण्डको वर्तमान संसदीय लाइनलाई डरलाग्दो चुनौती दिने छ । त्यसैले ‘काँशी’ र ‘कुती’को बाटोका बारेमा प्रचण्डले खुलेर दिशाबोध गराउनु जरुरी छ । प्रचण्डका लागि यो कुराको बोध गराउनु ‘प्याण्डोरा बक्स’ खोल्न पुगे झैं लागे पनि ध्रुव सत्य कुरा के हो भने ‘काँशी पुग्न कुतीको बाटो हिँडेर हुँदैन ।’