• मंसिर २० २०८१, बिहीबार

सुल्टै सुल्टोको उल्टो यात्रा

पुष १९ २०७८, सोमबार

हिँड्दा हिँड्दै धेरै हिँडिएछ
सुल्टै सुल्टोका लामा यात्राहरु
बाटोमाथि नहिँड् भने
सुल्टै हुकुम ठाने–हिँडेनन्
भित्र नपस् भने
सुल्टै कृपा ठाने–पसेनन्
दैलो नछो भने
सुल्टै उर्दी ठाने–छोएनन्
त्रास त्रासमै
यसरी नै धेरै हिँडे
लाटा लाटा पाइतालाहरु
सुल्टै सुल्टोको पिँधै पिँध
सुल्टै सुल्टो हिँड्दा हिँड्दा
किचिमिचिमा परेर सुल्टैको रजगजभित्र
भएका हुन् लाटा पाइतालाहरू समाधिस्थ
भर्खर भर्खरै ब्युँझेको छ, एउटा बागी चेतना
पढ्दा पढ्दै सुल्टै सुल्टाका कुटिल भाष्यहरू
यतिखेर मेरो छुच्चो मस्तिष्क
उम्रेर उहीँ पाइतालाहरूको समाधिबाट
गर्दैछ सुल्टै सुल्टोको अविराम उल्टो यात्रा
कतिपय सुल्टोहरु
श्राद्धमा बिरालो बाँधेर अमर भएछन्
कतिपय सुल्टोहरू
ग्वेबल्सले रटाउँदा रटाउँदै स्वर्णिम भएछन्
कतिपय मिथकीय सुल्टोहरू
शास्त्रले पिलाउँदा पिलाउँदै अजर भएछन्
विज्ञान त अझै पनि
अट्टाहासको मूच्र्छामा छ
जबदेखि सुन्दै सुन्दै आयो
मुख, बाहु, उदर र पाउबाट मान्छेको सृष्टि
हो यहीँबाट शुरू भएको हो मेरो
एक अविराम–सुल्टै सुल्टोको उल्टो यात्रा ।
जब मेरो चेतना
पुच्छरको ‘ज्ञ’ हुँदै हुँदै ‘क’सम्म पुग्यो
यात्रामा भेटेँ मुस्कुराइरहेका
अघोषित स्वरसम्राट–झलकमान गन्धर्व
भेटेँ यात्रामै
भक्ति थापा अघि अघि लम्केका–बाङ्गे सार्की
भेटेँ यात्रामै
आदिम शासकलाई राजपाठ सिकाउने
अलिखित चाणक्य–बिसे नगर्ची
सुल्टै सुल्टोको उल्टो यात्रामा
जब सुनेँ अचानक
‘हामीले हिमाल उठायौं एसियाको माझमा’
उत्तिनैखेर देखेँ
खित्का छोडेर हाँसिरहेको हिमालकै फेंद
तीतो हुन्छ अन्तिम सत्य
तीतै हुन्छ सुल्टै सुल्टोको उल्टो यात्रा
यतिखेर म यात्रारत छु
पन्छाउँदै पन्छाउँदै जिब्रोको मिठो स्वाद
सुल्टै सुल्टोको उल्टो यात्रामा
सम्बोधन गर्न प्रकट भए एक महान पंक्ति
‘ईश्वरको सन्तान मान्छेका भाई’
किच्च हाँस्यो मेरो यात्रा
खोज्दा–न भेट्यो ईश्वर न भेट्यो मान्छेका दाई,
गर्दै गर्दा
सुल्टै सुल्टोको उल्टो यात्रा
खोज्न मन भयो
सयौं थुंगा फूलका हामी एउटै मालाभित्र
कहाँनिर छ–धतुरो, बुकी फूलको स्थान ?
कहाँनिर छ–बाह्रमासा भुइँ फूलको अस्तित्व ?
मलाई एक दिन
पुग्नुछ फेंदबाटै सगरमाथाको टुप्पो
र, चर्को स्वरमा मुखरित हुँदै लेख्नु छ
सुल्टै सुल्टोको उल्टो यात्राको इतिहास ।
भरतपुर–११ चितवन, हाल युएई ।