महेश सिंह, लहान १९ पुष । सिरहा जिल्लाको अर्नामा गाउँपालिका–२ का स्थानीय जनताले विकास निर्माणको काममा अनियमितता भएको आरोप लगाएका छन् । २ नम्बर वडाको मैनावति खोलामा गरिएको पक्की पुल निर्माण कार्य, झोलुंगे पुल निर्माण कार्य लगायतका कार्यहरुमा चरम अनियमितता भएको उनीहरुले आरोप लगाएका हुन् ।
स्थानीयले सरकारी गाडीको चरम दुरुपयोग भएको र स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको आरोप लगाएका छन् । यसका बारेमा सम्बन्धित वडामा बनाइएको एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरि यस्तो कुराको सार्वजनिक गरेको हो ।
यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्णनन्द सिंहले भने हामी सरकारी कर्मचारी भएकोले जनताको करबाट सेवा सुविधा पाइरहेका छौं तर कतै अनियमितता भएको भए जनताले बुझ्न पाउने वहाँहरुको अधिकारको कुरा भएको बताए ।
उनले थपे,‘जहाँसम्म अनियमितताको कुरा छ । म आएको आ.व.देखिमा जति पनि ठूला लगानीका कार्यहरु भएका छन् ती सबै टेन्डर प्रक्रियाबाट नै भएका छन् । टेन्डर जो कोहिले पनि हाल्न पाउँछ । जसले लाईसेन्स पाएको छ, जसलाई टेन्डर पर्छ उसैलाई र जसले कम दरमा टेन्डर हाल्छ । पुल निर्माणको जुन कुरा छ, यो म आएको आ.व.भन्दा पहिले नै टेन्डर भइसकेको कुरा हो यसमा मलाई केहि बोल्न उचित लाग्दैन । अरु कुरा सम्बन्धित विषयवालासँग नै सोध्दा जवाफ आउला ।’
संघर्ष समितिका अगुवा शशिकपुर महतोले भने प्रशासकीय अधिकृतले बहानाबाजी गरेको आरोप लगाउँदै यसमा सबैको मिलिभगत रहेको दावी गररे । उनले अगाडी थपे,‘अब हामी विकासको लागि लागि पर्छौं र भएन भने चरणवद्ध आन्दोलनका कार्यक्रम समेत अगाडी बढाउँछौं ।’
यता यस विषयमा अर्नामा गाउँपालिकाका अध्यक्ष ठकुर महतो कोइरीले कार्यव्यस्ताताको कारण देखाउँदै पत्रकारलाई समय दिन मानेनन् ।