• मंसिर १२ २०८१, बुधबार

राप्ती किनारामा जब ‘हामी हिन्दु होइनौं, मंगोल हौं !’ भन्दै नारा घन्किए ……

पुष १८ २०७८, आईतवार

ओमप्रकाश गुप्ता । 
भालुबाङ १७ पुस । जातीय मुक्तिको राजनीति गर्दै आएको मंगोल नेशनल अर्गनाइजेसनको आयोजनामा दाङको भालुबाङमा एक सभा गरिएको छ ।

सो संठनले आफ्नो संगठनको ३३औं स्थापना दिवस मनाउनका लागि शनिबार देउखुरी क्षेत्रको भालुवबाङमा सो सभाको आयोजना गरेको हो ।

दिवंगत नेता डा.गोपाल गुरुङलाई उनीहरु आफ्नो संस्थाको संस्थापक नेता मान्दछन् । सभामा आउने सहभागीहरुले आफूहरु हिन्दू नभई मंगोल भएको जस्ता नाराहरु लगाएका थिए ।

जिल्ला अध्यक्ष प्रितम चौधरीको अध्यक्षता तथा केन्द्रिय सभा सदस्य लालबहादुर दर्लामीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो । सभामा बोल्ने वक्ताहरुले मंगोलहरु हिन्दु धर्मावलम्बी नभएकोले हिन्दु धर्म र यसका मातहतमा मानिंदै आएका चार्डपर्व नमनाउने बताए ।

उनीहरुले मंगोलीयन समुदायका मानिसहरुको आफ्नो अधिकारका लागि एकजुट हुन पनि आग्रह गरे ।
कार्यक्रममका वक्ताहरुले बाहुन क्षेत्री समुदायका शासकहरु देश डुबाइसकेको आरोप लगाउँदै देशको रक्षा र मंगोलहरुको हकहितका लागि पनि संगठित हुन आवश्यक रहेको बताएका थिए ।

सो संगठनका जिल्ला सदस्य राजबहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्गनाइजेशनका सल्लाहकार अमर बुढामगर, दाङ जिल्ला सहसचिव जितन पुनमगर, जिल्ला सभा सदस्य कल्पना थारु मंगोल, घोराही सभा अध्यक्ष पुणर्बहादुर घर्तीमगर, तुलसीपुर सभाध्यक्ष देवबहादुर रोकामगर, राप्ती गाउँपालिकाका अध्यक्ष शोभाराम बुढामगर लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रिन्स घर्तीमगरले गरेका थिए ।

को हुन् गोपाल गुरुङ ?

मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक नेता गोपाल गुरुङको सन् १९३५ मा भएको थियो । उनी एक नेपाली राजनीतिज्ञ, लेखक, पत्रकार, शिक्षक र मानव अधिकारवादी नेता थिए ।

नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्वसदस्य, विश्व नेपाली सङ्घको पूर्वमहामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया, मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए ।

नेपाली राजनीतिमा गुरुङ वर्णभेदको बारेमा चर्चा गर्ने पहिलो लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र न्यू लाइटमा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए । सन् १९८५ मा पहिलो पटक नेपाली राजनीतिमा अदेखा सचाइ प्रकाशित भएको थियो ।

यस पुस्तकको दोस्रो संस्करण १९८८ मा प्रकाशित भएपछि पञ्चायत सरकारले अगस्ट ३०, १९८८ मा उनलाई पक्राउ गरेको थियो । राजगद्धी ताकेको र साम्प्रदायिकता फैलाएको आरोप लागेका गुरुङलाई तीन वर्षको लागि भद्रगोल केन्द्रीय कारागारमा पठाइयो । उनले जनवरी १ १९८९ मा मंगोल नेशनल अर्गनाइजेशनको झण्डा र घोषणापत्र जेलभित्रै तयार गरेका थिए ।

राष्ट्रिय र अन्तराष्ट्रिय मानवअधिकारवादी सङ्गठन, पत्रकार, राजनीतिज्ञहरूको रिहाइको चर्को माग र दबाब पञ्चायत सरकारलाई थेग्न हम्मे परेको थियो । पञ्चायतको अन्त्य भएपछि गुरुङ अप्रिल १३, १९९० मा रिहा गरिएका थिए ।

उनले ‘अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी–डक्टरेट’ २००१ मा प्रकाशित भएपछि ५ वर्ष भूमिगत भइ जीवन व्यतित गर्नु परेको थियो । जुन पुस्तकका कारण बहिनी कृष्णा गुरुङलाई एक महिना मानसिक शारीरिक यातना दिएर हिरासतमा राखिएको थियो । पुस्तक विक्रि गर्ने कार्यकर्ता समेत पक्राउ परि महिनौ यातना खेपेका थिए ।

सन् १९७२ देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षताको वकालत गर्न सुरु गरेका गुरुङले डिसेम्बर १५, १९९५ मा राजा वीरेन्द्रलाई मानव अधिकार हनन, राजनैतिक संकटको सृजना र मुलुक गृहयुद्ध उन्मुख भएको ध्यानाकर्षण गराउँदै आजीवन राष्ट्रपति बनिदिन आग्रह सहित ६ बुँद्दे पत्र पठाएका थिए ।