देशमा कत्रो परिवर्तन भइसक्यो
तपाईं चाही खलाँसी बारे
कविता सोचिबस्नु हुन्छ
दिवा सपनामा आएर
कुनै अपरिचित पात्र बोल्यो
चरा
जंगल
हिमाल
प्रियसी
माया
आकाश
समुद्र
अनेकौं छन् कविताका विषयहरु
कम्युनिस्टहरु किन दुःखका गर्छन् ?
किन दुःखकै कविता लेख्छन्न् ?
बजार यस्तै सोच्छ
मधेसी कोटाबाट
विनोद चौधरीले आरक्षण कोटा चप्काइसके
निर्माण व्यवसायी मोहन आचार्यले
राष्ट्रिय राजनीतिमा फड्को हानिसके
पुष्पकमल दाहाल प्रतिवेदनमाथी
‘चुँ’ समेत बोल्न सकेनन् कमरेडहरु
थत
यस्तो भयानक विषयवस्तु छोडेर
खलाँसीबारे कविता
प्रिय पशुपति
रक्षा गर कम्युनिस्ट कविहरुलाई
लेखिरहेछु खलाँसीलाई कविता
पाठकहरु माफ गर्नुस्
मेरो खलाँसी साथी
विहान यो शहरमा भाले नबास्दै जाग्छ
(गाउँमा जस्तो बास्ने भाले पनि छैन नि
यो शहरमा)
बेलुका सबै निदासकेपछि
आफ्नु निर्जन कोठातिर फर्किन्छ
रातभरी सपनामा देख्छ
नक्कली विद्यार्थी कार्डहरु
सोह्रखुट्टेको अत्यासलाग्दो जाम
माछापोखरीको चिसो
मनमैजुको चिया
जरंखुको जर्खरो भात
मुसुक्क हास्ने पिकेकी विद्यार्थी नानीलाई देख्छ
सधैं झगडा गर्ने बूढो कर्मचारी देख्छ
ऐठन हुन्छन् कहिलेकाहीं
कराउँछ
नेपालटार, बालाजु, ठमेल, रत्नपार्क
ट्राफिक जाम पर्दा ऊ
कदापि नेतालाई गाली गर्दैन
बढिरहेको सवारी मोहप्रति प्रकट खेद गर्छ
कतै गर्भवती महिला चढे
अगाडिको सिट मिलाइदिन्छ
बुढाबुढीलाई कार्ड नभएपनि छुट दिन्छ
आरआरतिर विद्यार्थीहरुको आन्दोलन चल्दा खुसी हुन्छ
कहिलेकाहीं ऊ गजल पनि लेख्छ
ईमानदार छ साथी
कमाए जति ड्राइभरलाई बुझाउँछ
बेलुका पृथ्वी माविनेरको मासु पसलबाट
दुई पाउ मासु लिएर ऊ
निर्जन कोठा फर्किन्छ
श्रीमती उप्रति सधैं आक्रोशित छे
उसलाई लज्जा छ खलाँसीको बुढी हुनुमा
कहिलेकाहीं यसरी पनि सोच्नुस् मित्रहरू
नेताहरूलाई गालीको वर्षा गर्दा
नभुल्नुस् आफ्नु जग्गा दलाली पेशा
महिला अधिकारको निबन्ध पढ्दा
तपाईंले दिएको धोका नबिर्सनुस्
सेयरको बजार त्रेता बनेर
समाजवादको गफ नदिनुस्
निजी कलेजको चन्दा बुझेर
शिक्षाको ब्यापार बारे नभुत्भुताउनुस्
तपाईं एउटा खलाँसी
जति त इमानदार हुनुस् ।