• मंसिर १३ २०८१, बिहीबार

सहकारीमा थुप्रिएको रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

पुष १७ २०७८, शनिबार

गण्डकी । गण्डकी  प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौँ रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।     

आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउदै भने -“हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौँ रुपैयाँ पैसा थुपारेका छन्”, “तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ, अब सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।”     

देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ । कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेलसहितका व्यक्तिहरूले सम्मान गरेका थिए ।

कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरुबहादुर थापाले संस्थाको भवन निर्माण गर्न सहयोग पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गरेका थिए । सो क्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल, वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।