काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा अब देश दौडाहामा निस्किने भएका छन् ।
केही दिनअघि एक टेलिभिजन अन्तरवार्ताका दौरान थापाले आफूले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए । संवर्द्धनवादको विषयलाई लिएर थापाले देशव्यापी अभियान सञ्चालन गर्न लागेका हुन् । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार थापाले अभियान सञ्चालनका लागि आधार पत्र तयार गरिरहेका छन् । ‘पोखरामा टेनिस खेलमा सहभागी भएपछि वहाँ अहिले हेटौँडामा हुनुहुन्छ । हेटौँडाबाट फर्किएपछि अभियानको बारेमा विस्तृत जानकारी दिने बताउनुभएको छ,’ उनले भने ।
पार्टी अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि थापा पार्टीमा निष्क्रिय भएका छन् । पार्टीमा निष्क्रिय भएर बस्नुभन्दा देशभर अभियान सञ्चालन गर्ने थापाले तयारी गरेको बताइएको छ । थापाको यस अभियानलाई निकै चासोको रूपमा हेरिएको छ । धेरैले यश अभियानलाई छुट्टै अभियान सञ्चालन गर्ने तयारीको रूपमा पनि हेरिएको छ ।