• असार १८ २०८१, सोमबार

१५ वर्षमै स्नातकसहित पाँच विषयमा डिग्री हासिल गर्ने यी बालक

पुष १७ २०७८, शनिबार

काठमाडौँ। अमेरिकाको क्यालिफोर्नियाका एक बालक उनले गरेका अद्भूत कामका कारण चर्चाको शिखरमा छन् । ज्याक रिको नाम गरेका ती बालकलाई उनका विद्वताले चर्चामा ल्याएको हो ।

बालक रिकोले १५ वर्षको किशोर वयमै स्नातक डिग्री हासिल गरिसकेका थिए । यो डिग्री उनले चार वर्षको समयमा लिएको पाँचौं डिग्री हो । नेभाडा विश्वविद्यालयबाट १५ वर्षकै उमेरमा उनले स्नातक पूरा गरेर सबैलाई चकित पारिदिएका थिए ।

जन्मपछिका सुरुका ४ वर्षमा बालक रिकोलाई उनकी आमा रु एन्ड्राडेले घरमै शिक्षदीक्षा दिएकी थिइन् । दुई वर्षको नहुँदै बोर्डस् राख्ने प्रचलनमा रहेका नेपालीका लागि यो कुरा झनै आश्चर्य लाग्न सक्छ ।

घरमा दिइने शिक्षादीक्षा र पढ्ने कुरा सिध्याएपछि बल्ल उनी विद्यालय गएका थिए । त्यति बेलासम्म उनमा कौतुहलता, जिज्ञासा र खोजमूलक कममा निकै चासो बढ्दै गएको थियो । अध्ययनमा आश्चर्यजनक प्रगति गर्दै गएका उनलाई ११ वर्षको उमेरमा फुलरटन कलेजमा भर्ना गरिएको थियो ।

परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनको क्षमताको राम्रैगरी पहिचान हुन गयो । सानै उमेरमा उनलाई उच्च शिक्षाको अवसर पनि दिइयो । त्यसपछि उनी कलेज भर्ना भए । कलेजमा समकक्षी साथीहरुलाई उछिन्दै गरेका उनले छोटो समयमै उक्त शिक्षा पूरा गरे ।

कलेजकै उमेरमा उनले धेरै कुरा पढेर सिध्याए । यतिसम्म कि १३ वर्षको उमेरमै उनले ४ वटा एसोसिएट डिग्री पनि प्राप्त गरे । यसले उनमा रहेको अद्वितीय क्षमता र प्रतिभाको प्रष्फुटन गरायो । उनका साथी र छिमेकीहरु पनि अचम्भित भए ।

अध्ययनको सिलसिलाम उनले इतिहास, सामाजिक व्यवहार, कला र मानव अभिव्यक्ति तथा सामाजिक विज्ञानमा डिग्री हासिल गरिसकेका छन् । उनी क्यालिफोर्निया कलेजको डिग्री लिने पहिलो व्यक्तिमा दर्ज हुन पुगेका छन् ।

उनले स्नातक तहमा ३.७८ ग्रेड अंक प्राप्त गरेका छन् । अध्ययनमा निकै व्यग्र बालक रिको मास्टर डिग्री लिनका लागि तयारी गरिरहेका छन् । उनलाई धेरैले प्रश्न गर्ने र उनको मनोभाव बुझ्ने प्रयास गर्छन् ।

तर जो जसले जे सोधे पनि उनले ‘धेरै पैसा कमाएर बहिनीको हेरचाह गर्ने’ भन्दा अर्को कुरा गर्न चाहिरहेका देखिदैनन् । उनकी बहिनी अटिजम भन्ने स्मरणक्षिण हुने रोगबाट पीडित छिन् ।

(एजेन्सीको सहयोगमा)