• मंसिर ११ २०८१, मंगलवार

फर्केर हेर्दा सन् २०२१ : चिनियाँ अग्रताको वर्ष !

पुष १७ २०७८, शनिबार

सन् २०२१ ले चिनियाँ अग्रताको वर्षका रुपमा हामीबाट बिदा लिएको छ । यो वर्ष नबोलेर काम गरिरहने चीनका लागि फलिफाप भएको छ । धैर्यता र कुटनीतिलाई बढी प्रयोग गर्ने चीन यो वर्षमा निकै सफल भएको छ ।

तात्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध छेडेको व्यापार युद्धका बाबजुद चीन अहिले विश्वको सबैभन्दा धनी देशका रुपमा उदाइसकेको छ । यसले हालसम्म अग्रपंक्तिमा रहेको अमेरिकालाई उछिनिसकेको छ ।

सन् २०३० सम्म अमेरिकी अर्थतन्त्रलाई चिनियाँ अर्थतन्त्रले पछि पार्ने अनुमान प्रक्षेपण भैरहेका बेला चीनले १० वर्ष अघि नै उछिनिसकेको यथार्थता सार्वजनिक हुन पुगेपछि अमेरिकासमेत आश्चर्यमा परेको छ ।

यसले ‘विश्वगति’ लिएर संसारभर लम्कदै गरेको चीनलाई विश्व महाशक्ति हुनबाट कसरी रोक्ने भनी नयाँ वैश्विक कार्यनीति तय गर्न अमेरिकालाई बाध्य बनाइरहेको छ ।

सन् २०२२ अमेरिका–चीन बीचको दाउँपेच र टकराबमा बित्ने देखिएको छ । यो बीचमा व्यक्त रुपमा अमेरिका–रुस टकराब र इजरायल–अरब देशहरुका बीचमा चल्ने टकरावले स्थान लिने देखिएको छ । हेर्दा भिन्दै देखिए पनि यी दुई प्रकृतिका टकरावको अन्तर्यमा अमेरिका–चीनबीचको दाउँपेच नै हुने छ ।

सन् २०२२ मा अमेरिकाले यो वा त्यो रुपमा चीनलाई प्रत्यक्ष रुपमा आमने सामने आउन उत्तेजित पार्ने कामहरु गर्ने छ । तर चीनको दीर्घकालीन रणनीतिअनुसार ऊ उत्तेजित भएर आइहाल्ने देखिदैन । अमेरिका र चीनका बीचमा ससाना ‘ब्याटल’ भए पनि तिनलाई युद्धमा र त्यसको भीमकायस्वरुप विश्व युद्धमा परिणत हुन नदिन चीन सतर्क रहने देखिएको छ ।

यो वर्ष चीन विश्वभर ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को व्यवहारिक कार्यान्वयनका लागि ‘फिजिबिलिटी’ अध्ययन गर्दै विश्वका धेरै देशहरुसँग सहकार्यलाई अघि बढाउन मैत्रीसम्बन्धमा लागि पर्ने देखिएको छ । सफ्ट बेयर उत्पादन र हार्डवेर उत्पादनलाई यसले आफ्नो विश्व व्यापारको आधाआधाको समानुपातिकतामा पुर्याउन जोड गर्ने छ ।

उता युद्ध अर्थतन्त्रमा बाँचेको अमेरिका कतै न कतै युद्ध होओस् वा युद्ध सिर्जना गर्न सकियोस् भन्ने ध्याउन्नमा लागेको देखिन्छ । यसले अबको एक दशक बाँच्नका लागि पनि कतै न कतै प्राकृतिक स्रोत साधन, खानी र सस्तो जनशक्तिको खोज गर्नु परेको छ । यसका लागि अमेरिकाले एशिया नै उपयुक्त रहेको ठहर गरिसकेको छ ।

त्यसका लागि इण्डो प्यासिफिक रणनीति अन्तर्गत एमसिसीको प्याक्ट लिएर नेपाल छिर्ने कोसिस गरिरहेको छ । हेर्दा नेपाल यसको फोकसमा देखिए पनि उदाउँदो चीनलाई रोक्न भारतको विसाल जनसंख्या, भूभाग, चीनसँगका सीमा विवादलाई उसले भरपूर उपयोग गर्ने कोसिसमा लाग्ने छ । साथै, कम्तिमा अबको एक दशक र बढिमा पाँच दशकसम्म बाँच्नका लागि यसले हिन्द महासागरमा रहेको अथाह तेल भण्डार र खानीहरुमा गहिरो गरी आँखा गाडेको देखिन्छ ।

यी सबैका बाबजुद विश्व महाशक्तिका रुपमा अग्रपंक्तिमा उदाउँदै गरेको चीनका लागि के के कुराले सहज र असहज भूमिका निर्वाह गरे ? यसैका आधारमा सन् २०२१ लाई यसरी नियालेर हेर्न सकिन्छ।

कोरोना महामारी र औषधि व्यापार :

सन् २०२१ विश्वव्यापी कोरोना खोप बिस्तारका वर्षका रुपमा रहेको छ । यो वर्ष १८ वर्षमाथिकालाई दिइएको खोपका अतिरिक्त ५ वर्ष माथिका लागि दिने खोप निर्माण गरिए । विश्वको ८ अर्ब हाराहारीको जनसंख्यामा खोपवितरण गरिदा खोप व्यापार नै सबैभन्दा बढी हुन गएको छ ।

त्यसमा पनि चीनको बुहानमा देखिएको भनिएको कोरोना महामारीविरुद्ध विश्वसनीय खोपको उत्पादन चीनमा गरियो र चीनको निकै बाक्लो जनसंख्यामा यसको भरपूर प्रभावकारिता देखियो पनि । हाल चीनको भेरोसेल लगायतका खोप संसारभर अत्यधिक मागमा रहेको छ ।

विश्वभर लकडाउन, स्वास्थ्य संकट घोषणा तथा निषेधाज्ञा जारी गरिंदा छोटो समयमा कोरोनाका सुरुका भेरियन्ट नियन्त्रणसहित यसले देशको औद्योगिक चहलपहलमा गति दिन सफल भयो । विश्व हालसम्म पनि तरंगित भैरहँदा यसले विश्वभर आफ्नो गतिविधि सुरक्षित साथ बढाइरह्यो ।

अमेरिकी संसद क्यापिटल हिलमाथि आक्रमण :

निर्वाचनमा हारेका तात्कालीन काम चलाउ राष्ट्रपतिका रुपमा रहेका डोनल्ड ट्रम्पको प्रत्यक्ष निर्देशन र उक्साहटमा सन् २०२१ को यो आङ नै सिरिङ्ग हुने निकै डरलाग्दो घटना हो । यो घटना अमेरिकीका लागि उनीहरुले भने झैं ‘लज्जास्पद’ त छँदै थियो, विश्वभरका प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यताका लागि पनि नराम्रो घाटा । यसले समग्र प्रजातान्त्रिक मूल्यमान्यतामा सन्देह खडा गरिदिएको थियो ।

परिणाम स्वरुप यसले विकल्पका रुपमा उदाइरहेको चिनियाँ विशिष्टतासहितको समाजवादलाई नदेखिने गरी बल पुर्याउन पुगेको थियो । प्रजातान्त्रिक मोडलका रुपमा विश्वको अगुवाइ र नेतृत्व गर्दै आएको अमेरिकाको आन्तरिक प्रजातन्त्रमाथि टड्कारो संकट परिरहेको अभिव्यक्तिका रुपमा यो समस्या देखा परेको थियो ।

निर्वाचन मत परिणामप्रति ट्रम्पको असन्तुष्टि, क्यापिटल हिलमाथि आक्रमण, संसद भवन तोड फोड, ह्वाइट हाउस कब्जाको हल्ला, अमेरिकी प्रशासनमा कडाइ, भिडन्तमा ५ जनाको हताहती, यसै कारण ट्रम्पले दोस्रो पटक महाअभियोगको सामना गर्नु परेको, बाइडन तथा कमला ह्यारिसको विजयमाथि प्रश्न चिन्ह आदि चीनका लागि सहायक र अमेरिका र अमेरिकी प्रजातन्त्रका लागि अभिषाप थिए ।

काबुलमा राजनीतिक उलटपुलट :

हेर्दा सामान्य देखिए पनि काबुलमा भएको राजनीतिक उलटपुलट अन्तर्राष्ट्रिय राजनीतिक रंगमञ्चमा भारी महत्वको रहेको छ । दुई दशकसम्म गरिएको काबुल कब्जाबाट अमेरिकाको निशर्त फिर्ती र तालिवानको पुनरागमन अमेरिकी इतिहासमा भियतनाम पछिको लज्जाजनक फिर्तीका रुपमा रहेको विश्व राजनीतिक विश्लेषहरुको ठहर छ ।

यसका पछाडि चीनको हात रहेको पनि व्यवहारतः स्पष्ट छ । यो कुन सन्दर्भमा र के के कुरामा चीन र अमेरिकाबीच सौदाबजी हुँदा गरियो, यो खुल्न सकेको छैन । तर यसमा अमेरिका र चीनजस्ता महाशक्तिको पौंठेजोरीले काम गरेको भने स्वतःस्पष्ट छ ।

इजरायलको शक्तिमा कमी :

सन् २०२१ मा त्यहाँका सदाबहार नेता तथा शासक बेञ्जामिन नेतन्याहुले लामो समयसम्मको एकछत्र राजबाट हात धोए । भनिन्छ, इजरायलमा नेतन्याहु युगको अन्त्य हुन गएको छ ।

अबका दिनमा इजरायलले अरब देशहरुमाथि पहिलेको जस्तो जबर्जस्त उत्पीडन थोपरेर लैजान नसक्ने अनुमान पनि हुन थालेको छ । यसको अर्को पाटोलाई नियाल्यौं भने अरब देशहरुमा चीनको सहकार्य बढ्दै गएको देखिन आएको छ ।

रुसमा पुटिनको एकछत्र :

भ्लादिमिर पुटिन रुसमा स्टालिन पछिको लामो समय शासन गर्ने व्यक्तिका रुपमा देखा परेका छन् । उनका विरोधी एलेक्सी नाभाल्नी जेल हालिएपछि उनी पुनः प्रतिपक्ष विहीनताको अवस्थामा छन् ।

रुसमा सन् ९० को दशकमा फुट्न गएको क्रिमिया एकाकार हुन पुगेपछि पुटिनले रुस भौगोलिक रुपमा पहिलेको ‘युनियन अफ सोभियत सोसलिष्ट रिपब्लिक’ (युएसएसआर) को अवस्थामा त पुग्दैन भनी निकै चिन्तित हुन थालेको प्रतित हुन्छ ।

हाल युक्रेनमा रुससँग एकीकरणका लागि आवाज उठ्न थालेपछि अमेरिकाले रुसमाथि दोस्रो नाकाबन्दी लगाउने तयारी गरिरहेको छ । यसलाई अस्वीकार गर्दै पुटिनले युक्रेनको सीमामा एक लाख रुसी सेना तैनाथी गरेका छन् । उता अमेरिका भने युक्रेन लगायतका देशहरुसँग सैन्य अभ्यास गर्न लालायित भैरहेको छ ।

चीनको आन्तरिक बजबुती :

विश्वको सबैभन्दा धनी देशका रुपमा उदाइसकेको अवस्थामा चीन आर्थिक रुपमा मात्र होइन, वैचारिक, सांगठनिक र आन्तरिक एकताका हिसाबले पनि बजबुत रहेको अवस्थामा छ । यसले विश्व व्यापाररमा वर्चस्व कायम गरिसकेको छ ।

वैचारिक रुपमा सि जिन पिङ विचारधारा निर्माण गरेको छ । यो विचार अनुरुपको नीति, योजना र कार्यक्रम कार्यान्वयनको क्रममा छ । यसको भूजडित रणनीति पनि आक्रामक रुपमा अघि बढिरहेको छ ।

बेलायतको बकिंघम दरवार विवाद :

हालको ‘बूढो युरोप’को नेतृत्व गरिरहेको बेलायतका लागि सन् २०२१ राजकुमार ह्यारी र मेघनको चर्चा निकै भारी भयो । बकिंघमकै भाषामा ‘आधुनिक बुहारी’ मेघनसँग बेलायती राजकुमार ह्यारीले दरबार र शाही दर्जा सबै त्याग गरेपछि यो निकै भारी हुन गएको हो ।

‘हाम्रो नातिको छालाको रङ कति कालो होला’ भन्ने रंगभेदी विषय उठाएर मेघनले बकिंघमलाई विवादसम्म पुर्याए पछि यसले निकै ठूलो उल्झनमा दरवारलाई पारेको थियो ।

अन्तरीक्ष प्रतिस्पर्धा :

सन् २०२१ चीनका लागि प्राविधिक हिसाबले पनि निकै फलदायी वर्ष रहन गयो । यो वर्ष चीनले मंगल ग्रह टेकेर हालसम्म एकलौटी बर्चस्व कायम गरेको अमेरिकालाई गम्भीर चुनौती दियो । चन्द्रमाको अँध्यारो भागमा सफलतापूर्वक अन्तरीक्ष यान अवतरण गराएर अमेरिकालाई योभन्दा पहिल्यै चकित पारिसकेको थियो ।

अमेरिकाका स्पेस एक्स र ब्लु ओरिजिनले अन्तरीक्ष भ्रमणका लागि बाटो खोलिदिंदा चीनले पनि यसका लागि पहल लिइरहेको कुरा चर्चामा आएको छ ।

युरोप र अष्ट्रेलियाबीच व्यापार वार्तामा खटपट :

अस्ट्रेलियाले फ्रान्ससँग पण्डुब्बी खरीद सम्झौता रद्द गरेपछि अमेरिका निकट रहेका शक्तिहरुका बीचमा रहेको अन्तर विरोधले प्रत्यक्ष वा परोक्ष रुपमा चीनलाई फाइदा पुग्न गएको छ ।

जी–सेभेन गठजोडमा शिथिलता :

चीनको बीआर आईविरुद्ध एक भएर सशक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरे पनि जी–सेभेन गठजोडमा शिथिलता आएको छ । यसले अमेरिकी कदम कार्यान्वयनमा बाधा पुर्याएको छ ।
निष्कर्ष :
माथिका यी सबै कुराले सन् २०२१ चीनको सफलताका लागि मार्ग प्रशस्त गरेको र अमेरिकाका लागि बाधा सिर्जना गरेको देखिन्छ ।