आज टोपी दिवश हो । नेपाली समाजमा धेरै वर्ष पहिलेदेखि टोपी दिवस मनाइँदै आइएको छ । अघिल्लो वर्ष झैं यसवर्ष पनि नेपालीहरुले टोपी दिवस मनाएका छन् । आज सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा टोपी लगाएको तस्विर राखिएका छन् । आजै अंग्रेजी नयाँ वर्षपनि परेको छ । नेपालीहरु संसारभर छरिएर रहेका कारण यसलाई अन्तराष्ट्रिय टोपी दिवस भनेर पनि मनाउने गरिन्छ । यस आजको टोपी दिवसलाई नवौं टोपी दिवसका रुपमा मनाइएको छ ।
युवा युवतीहरु टोपी दिवस तथा अंग्रेजी नयाँ वर्षका अवसरमा शुभकामना आदनप्रदान गरिरहेका छन् । आजै शनिबार पनि परेकोले यी दिवसका अवसरमा छुट्टी पाए झैं गरि विद्यार्थी तथा युवाहरु रमाइलो गरिरहेका छन् ।
किन मनाइन्छ टोपी दिवस ?
ढाका टोपी ढाकाको कपडाबाट बनेको एक पोशाक हो । ढाका टोपी नेपालीको मौलिक पोशाक पनि हो । नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जनजातिले निकै सम्मानका साथ लगाउँछन् ।
नेपाल मण्डल (काठमाडौं) उपत्यकामा ढाकाको कपडाबाट बनेको परम्परागत रुपमा पुरुषहरूले लगाउने टोपी हो । यो मुख्य रूपले काठमाडौं उपत्यका नेवाहरुको मुख्य पहिरन भए पनि पछिल्लो समयमा पहाडी भूभागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातिका मानिसहरूले पनि परम्परागत रुपमा लगाउने गर्दछन् । ढाका टोपी नेवार समुदायको मौलिक पहिरन हो ।
प्राचीन कालदेखि नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायः ढाका टोपी पुरुषहरूले प्रयोग गर्छन् । आजकल महिलाहरूले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ ।
ढाका टोपीले नेवार समुदायको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाकाटोपी देशका उत्कृष्ट ढाका टोपी हुन् । पछिलो समय नेवारहरु उपत्यका भन्दा बाहिर सरेपछि यो टोपी नेपालभर प्रचलनमा आएको छ ।
ढाका टोपीको इतिहास
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने आलंकारिक धागोलाई सचिका भनिन्छ । म्हःपूजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ ।
धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा (खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागोलाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ । उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो ।
सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपीलाई नै आजकाल ढाका टोपी भनिन्छ । जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र वस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी नितान्त नेपाली उत्पादन नै हो ।
केहि विश्लेषकहरूले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपीलाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।