• मंसिर १२ २०८१, बुधबार

जंगलमा जुलुम गर्दै लोक गायक मिलन लामा (भिडियो सहित)

पुष १७ २०७८, शनिबार

काठमाडौं । चर्चित लोकगायक मिलन लामा लामो समयको अन्तरालपछि मौलिक लोकगीत लिएर संगीत बजारमा आएका छन् । नेपाली समाज र जनजिब्रोमा झुण्डिने खालका दर्जनौं लोकदोहोरी गीतहरुका स्रस्टा रहेका गायक लामा यसपटक थारु संस्कृति झल्किने नेपाली र थारु भाषा मिसिएको गीत मार्फत् आएका हुन् ।

Julum Kardiya

‘जुलुम कर्दिया’ शिर्षकको गीत र यसको भिडियो सहित उनी यसपटक फेरि दर्शकमाझ देखिएका छन् । बाँके र बर्दिया लगायतका स्थानहरुमा बसोबास गर्ने थारुहरुको भाकाको गीतलाई नेपाली भाषामा संकलन गरेर लामाले ल्याएका छन् । गीतलाई लामा आफैले संगीत दिएका छन् भने लामा र चर्चित लोकदोहोरी गायिका टीका पुनले सो गीतलाई स्वर दिएका छन् । गीतमा झलक संगीतमले संगीत संयोजन गरेका छन् ।
‘बर्दिया जुलुम कर्दिया’ भन्दै गाइने सो गीतमा केटाले

‘बर्दियाको जंगलमा बाघले बाटो छेक्ने
किन होला रातै दिन तिमीलाई मात्रै देख्ने’

भनेर गाउँछन् भने ‘जलजला नहोऊ अलमल’ भन्दै केटीले केटालाई

‘कोहलपुरे सुर्खेत हुँदै दैलेखको दुल्लु
माया बस्न लाग्या भन्या बुझ्दैन क्या उल्लु’

भनेर उत्तर दिएर गीत गाउँछिन् ।

आकर्षक रुपमा बनाइएको सो गीतको भिडियोमा गायक लामा स्वयम् र शकु शाहले नृत्य गरेका छन् । शिव विश्वकर्माले भिडियो निर्देशन र नृत्य निर्देशन गरेको सो गीतको भिडियोका दृश्यहरुलाई रविन्द्र बरालले क्यामरामा कैद गरेका छन् । गीतको भिडियोका दृश्यहरुलाई आकाशबाट कैद गर्न भने विष्णु सेवाले ड्रोन चलाएका छन् ।

भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने सो भिडियोको पोष्ट प्रोडक्शन शिव फिल्मस र ड्रागन पिक्चर्सले गरेका छन् । मिलन लामाको युटुव च्यानलबाट सो गीतको भिडियो सार्वजनिक गरिएको छ। जम्मा आठ मिनेट १४ सेकेण्ड रहेको सो गीतको भिडियो हेर्दाहेर्दै समय बितेको दर्शकलाई पत्तै हुँदैन ।

हेरौं भिडियो ⇓