(बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि जितेर नेपाली महिला भलिबल टोली स्वदेश फर्किएको छ । टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सरकारका मन्त्री, खेलकुद व्यवस्थापन तथा खेल जगतका समर्थक तथा शुभचिन्तकद्वारा भव्य स्वागत गरिएको छ । विजयको यो उल्लाशमय अवसरमा नेपाल राष्ट्रिय महिला भलिबल संघकी अध्यक्ष अरुणा शाहीसँग गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. यहाँहरुलाई हार्दिक बधाई ! नेपाली महिला टोलीले टाइटल हात पारेको छ, एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको । कस्तो अनुभूति गरिरहनु भएको छ ?
धन्याद, वेलकम ! हामी धेरै खुशी छौं । तर पनि हामीले देखाउन सक्ने कलामा केही कमी भने रह्यो । सुरुका दिनमा केही घबराहट देखिए पनि सुधार गर्दै लग्यौं । अन्त्यसम्ममा ‘पर्फर्मेन्स’ भने झैं राम्रो नभए पनि खेलमा सामूहिक रुपले लागेर जित्यौं ।
२. के कुराले यसमा काम गर्यो जस्तो लाग्छ ?
सुरुमा पनि र फाइनलमा पनि हामीमाथि जित्नै पर्ने दबाब परिरहेको थियो । हार्छौं कि भन्ने पनि रह्यो । अर्कोतिर हराउनै पर्छ भन्ने दबाबले निकै प्रेसर क्रियट गरिरहेको थियो ।
हामी जित्न सफल भयौं पनि । तर हामीले ‘अनइजी फिलिङ’ गरिरहेका थियौं ।
३. अघिल्लो खेलमा तयारी पनि केही पुगेको थियो, थाइल्याण्डमा गएर तयारी पनि गर्नु भएको थियो । यस पाला भएन, त्यसैले पनि हो जित्दा पनि समस्या निकै झेल्नु परेको ?
त्यो त डेफिनेट्ली हो । किनभने जति तयारी गर्यो, उति खेलाडीलाई इजी हुने हो । तयारी पनि पुग्ने हो । एक्सपेरियन्स पनि हुने हो । अहिलेको गरिएको ट्रेनिङमा त दुईतीन दिन ग्याप नै भएको थियो । यहाँ पनि तयारी भएन । बांगला देशमा पुगेर पनि तयारी गर्न पाइएन । त्यसैले पनि ‘फस्ट डे’मा राम्रो गेम भएको थिएन ।
४. किन यसो भयो ?
पहिले ट्रेनिङ पनि लङ टाइम थियो । चार पाँच महिना त हुन्थ्यो । अहिले टाइम पनि छोटो थियो । यसबीचमा एक्सपेरियन्स म्याचहरु पनि खेल्न सकिएन । डाइरेक्ट टुर्नामेन्टमै गएर गरिएको हो । यसले असहजता ल्याएको थियो ।
५. दबाबको कारण के थियो ?
लास्टको च्याम्पियन र अहिले पनि च्याम्पियन हुनुपर्छ भन्ने कुराले आन्तरिक मनोवैज्ञानिक रुपमा दबाब ल्याएको थियो । यसले गर्दा पनि भनेजस्तो पर्फमेन्स देखाउन सकिएन ।
६. नयाँ खेलाडीले राम्रो कभर गरेको देखियो । नयाँ खेलाडीको आगमनले कस्तो प्रभाव पारेको छ ?
नयाँ खेलाडीले सोचेभन्दा राम्रो पर्फर्मेन्स दिएका छन् । यसले पुराना खेलाडीलाई राम्रो सपोर्ट भएको छ । आआफ्नो स्थान र जिम्मेवारी पनि राम्रोसँग लिन सके ।
७. सरकारको सहयोग त देखिएन । आफ्नै मेहनतले कति दिनसम्म गर्न सकिने सोच्नु भएको छ ?
धेरै च्यालेन्ज छ । यसरी असहयोगको बीचबाट जाने हो भने त निकै नै च्यालेन्ज छ ।
अघिल्लो वर्षमा सोझो सेटमा हराएका थियौं । तर अहिले हाम्रो पर्फमेन्स राम्रो नहुँदा ‘बेष्ट अफ फाइब’ म्याचसम्म पनि खेल्न दियौं ।
हेर्दा पनि उनीहरुको फर्फमेन्समा कति सुधार आएको छ । तर हाम्रोमा त्यसो हुन सकिरहेको छैन । यस्तो तौर तरिका र चाल रहने हो भने नेक्स्ट टाइम हाम्रो साख जोगाउन गाह्रो हुने देखिएको छ । यसका लागि ट्रेनिङमा ध्यान दिने र एक्स्पेरियन्स म्याच खेलाउने गर्नै पर्छ ।
८. नयाँ पुस्तामा लिगेसी सर्न सक्ला ?
नयाँ खेलाडीको आगमन भैरहेको छ । तर आउने मात्रामा जति देखिन्छ, यतिले मात्र पनि पुग्दैन । जति धेरै खेलाडी आए, उति धेरै कम्पिटिशन हुन्छ । राम्रो पनि हुँदै जान्छ ।
ग्रास लेभलबाटै लेभल वाइज ट्रेनिङ गराउने र अन्तर्राष्ट्रिय स्तरका टुर्नामेन्ट गराउने गरे मात्र यसमा सुधार आउने देखिन्छ ।
९. अबको लक्ष्य के हो ?
हामी सेन्ट्रल जोनमा गोल्ड मेडल ल्याउन सफल भयौं । अब साख गेममा गोल्ड मेडल ल्याउने नै हो ।