• असार १८ २०८१, सोमबार

मिसन बेपीकोलम्बो : युरोपको प्राविधिक पुनर्जागरण !

पुष १६ २०७८, शुक्रबार

काठमाडौं । युरोप र जापानले संयुक्त रुपमा सञ्चालन गरेको मिसन बेपीकोलम्बो अन्तर्गत पठाएको अन्तरीक्ष यानले बुध ग्रहको पहिलो तस्वीर पठाएको छ । पहिलो उडानमै तस्वीर पठाउन सफल भएपछि यसलाई अन्तरीक्ष अध्ययनका लागि ठूलो उपलब्धी मानिएको छ ।

लामो समयसम्म अन्तरीक्ष प्रतिस्पर्धामा युरोपको नाम नआइरहेको बेलामा यो समाचार आउनु सुखद रहेको वैज्ञानिकहरु बीचमा सकारात्मक टिप्पणी आएको छ ।

नासाले पठाएको पार्कर यानले सूर्यको वायुमण्डलमा प्रवेश गरी सूर्यको सबैभन्दा नजिकको फोटो पठाएर रेकर्ड कायम गरिरहँदा बेपीकोलम्बोको यो सफलता पनि कम महत्वको छैन । किनकि, बुध ग्रह सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो ।

यसका बारेमा खोज तथा अनुसन्धान विरलै हुने गरेको छ । युरोप र जापानले संयुक्तरुपमा पठाएको अन्तरीक्ष यानले पठाएको तस्वीर सबैका लागि यस कारण पनि चासोको विषय बनिरहेको छ ।

युरोपियन स्पेस एजेन्सी (ईएसए) ले जनाए अनुसार बेपीकोलम्बो मिसनले शुक्रबार ११ : ३४ ग्रिनविच मिनटाइम अनुसार ग्रहमाथि गरिने भनी पहिल्यै सूचीमा राखिएका ६ उडानमध्ये पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको थियो ।

उक्त यान पहिले नै बुधग्रहमा पुगिसकेको थियो । यसले बुध ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर गति नियन्त्रण गरी तस्वीर लिन सफल भएको थियो । यो यानले बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानमा जडान गरिएका क्यामराबाट ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्बीर लिएको थियो ।

युरोपीय स्पेस एजेन्सीले पठाएको उक्त तस्वीर बुधको उत्तरी गोलाद्र्धको रहेको जनाएको छ । यो तस्वीरमा १०३ किलोमिटर लामो चौडाइ भएको लर्मोन्टोभ क्रेटर पनि प्रस्ट देख्न सकिन्छ ।

त्यो उडान आफैमा ऐतिहासिक सफलता भएको उक्त यानको अपरेसन म्यानेजर एल्सा मोन्टाग्नोनले बताएकी थिइन । ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको यो संयुक्त मिसन सन् २०१८ मा सुरु गरिएको थियो ।

(एजेन्सीको सहयोगमा)