• बैशाख १३ २०८२, शनिबार

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्छ’

पुष १६ २०७८, शुक्रबार

काठमाडौँ। सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिना साथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए । यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनले बताए । नेपालको कूटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उनले समयानुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए ।

सांसद रावलले साना देशका लागि कूटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे । त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए । नेपालको सिमाना मिचिँदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताए ।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गरिन् । उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देशबीचको सम्बन्धमा समेत असर पर्ने धारणा राखिन् ।