काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रतिनिधिमाझ प्रचण्डले भने, कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्, तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’
माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन पनि तयार रहेको उनले बताए । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’
अहिले पनि एउटा छलाङ हान्न खोजेको भन्दै उनले भने, ‘जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’
प्रतिवेदनमा सबैको सुझाव समेट्ने उनको भनाइ छ।