• चैत्र २७ २०८१, बिहीबार

हिउँदे वर्षाले किसानहरुमा ल्याएको खुशीयाली

पुष १६ २०७८, शुक्रबार

ढिलै भए पनि हिउँ र पानी परेपछि देशभरका किसानहरुमा खुशीयाली छाएको छ । हिउँपानीले हिउँदे खेती राम्रो हुने भएपछि किसानहरुमा खुशीयाली छाएको हो ।

हिमपात र वर्षा एकैपटक हुन गएपछि जनजीवन केही कठिनाइपूर्ण देखिए पनि जनताको प्राण धान्ने हिउँदे अन्नबाली सप्रने र फल्ने आशामा किसानहरुमा यसले प्रफुल्लता ल्याउन सकेको हो ।


Advertisement

हिमपात र वर्षाका कारण हिमाली तथा उच्च पहाडी इलाकामा यस वर्षको गहु, जौं र उवाको खेतीमा राम्रो दाना लाग्ने विश्वास गरिएको छ । हिउँदे खेती राम्रो हुन सके दुरदराजका इलाकामा यो वर्षको हिउँदे भोकमरीले त्यतिका सताउने छैन ।

हिमपात र झरीसँगै पहाडका बारीहरुमा हराउन पुगेका गहुँजौं एकदुई दिनमै हरियो बनेर पुनर्जीवन प्राप्त गरिरहेका छन् । परेको हिउँ हप्तादिनसम्म रह्यो भने त्यसले अन्नबालीको गुणस्तरमा बृद्धि गर्ने विश्वास पनि गरिन्छ ।

बर्खा याममा मनसुनी वर्षाका कारण हिमाल, पहाड, तराइ सबै ठाउँमा धान तथा मकैको समान रुपमा खेती गरिन्छ । तर हिउँदे खेतीमा भने सिंचाइ अभावका कारण यी तीनै क्षेत्रमा समान हिउँदे बाली उत्पादनको अपेक्षा गरिदैन ।

हिमाल पहाडका हिउँदे खेती गरिने जग्गा भएका अधिकांश ठाउँमा सिंचाइको सुविधा छैन । त्यसैले पनि हिउँदे बालीका लागि पश्चिमी वायुको बहाबमा भर पर्नुपर्छ । पश्चिमी वायुलाई ‘जुवाको खेल’ भनिन्छ ।

यसको एक मात्र कारण हो, पश्चिमी वायुका कारण कहिले पानी पर्छ, तर कहिले भने दुईतीन वर्षका हिउँदमा समेत पानी पर्दैन । तर यस वर्षको हिमपात र वर्षाले हिमालको तल्लो बेल्ट, पहाडी क्षेत्र तथा चुरेमा समेत हिउँदे खेती राम्रो हुने संकेत दिएको छ ।

बर्खाको मनसुन तथा त्यसपछि आएको बेमौसमी वर्षाका कारण धानबाली बाढी, पहिरो तथा डुबानमा परी ठूलो मर्कामा परेका किसान हिउँदे वर्षाका कारण खुशी देखिएका छन् ।