काठमाडौं । देशभर परेको हिमपात र वर्षाले सहरी क्षेत्रमा चीसो र शीतको कहर ल्याएको जस्तो देखिए पनि ग्रामीण किसानहरुका बीचमा यसले आशा, हौसला र उत्प्रेरणा ल्याएको छ । त्यो हो, हिमपात र वर्षाका कारण किसानहरुले हिउँदे फसल सफलताका साथ भित्र्याउन पाउने भएका छन् ।
असोज र कार्तिक महिनामा लगाएर सकिएको हिउँदे बाली गहुँ, जौं र उवा उम्रिसके पछि मंसीर महिनाभित्रै वर्षा भैदिएको भए निकै राम्रो हुने थियो तर ढिला गरेरै भए पनि पुसको आधाआधीमा परेको हिउँ र पानीले पनि आशातित बाली भित्र्याउन सहयोग पुर्याउने किसानको ठहर छ ।
हिउँ र पानीका कारण हिमाली तथा उच्च पहाडी इलाकामा यस वर्षको गहुँ, जौंलगायत हिउँदे फसल राम्रो भई हुर्कने भएको छ । नेपाली किसान अझै पनि व्यवसायिक खेतीमा अग्रसर हुन सकिरहेका छैनन् ।
ऋतुले पनि उनीहरुलाई वर्षे र हिउँदे गरी दुई मुख्य ऋतुअनुरुप खेती गर्न अभ्यस्त बनाएको छ । उनीहरुले गर्ने गरेको बर्खे खेती मकै र धान बालीले वर्षमा ७-८ महिना धाने पनि बाँकी ४-५ महिना भने हिउँदे बालीले धान्दै आएको छ ।
नेपालका तराइ तथा मध्यपहाडी इलाकामा रहेका सहर तथा गाउँमा आयात गरिएको चामल किनेर खान सक्ने अवस्था भए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने त्यो संभावना निकै कम छ । बाटोघाटो र ढुवानी सेवा नहुनुका कारण लगाइएको बाली नफलेमा भोकमरीले मरिने अवस्था अहिले पनि छ ।
सिञ्चाइ गरिने भूभाग नेपालमा निकै कम छन् । देशका थोरै बेसी र टारहरुमा मात्र सिंचाइको सुविधा छ । बाँकी विसाल भाग भने सिंचाइविहीन अवस्थामा छ । यी क्षेत्र नेपाली किसानको बाक्लो बस्ती भएको क्षेत्र हुन् ।
जमिन र आकाशको भेट भए सिर्जना हुन्छ भन्ने नेपाली किसान हुँदाका बेला फलेको अन्नले भकारी भर्ने र नहुँदाका बखत चिन्नो र थैलोसम्म भए पनि भर्ने उद्देश्यले खेती गर्न भने छाड्दैनन् । पोहर साल वर्षात् नभएका कारण बारीमै गहुँ र जौं सुके पनि यो साल भने हराभरा हुने देखिएको छ ।
पाखाबारीमा लगाइएका हिउँदे बाली यो वर्ष राम्रै हुने देखिएको छ । ‘बाली सप्रने, भोकमरी नहुने’ आशाले किसानमा प्रफुल्लता छाएको छ । हिउँदे वर्षालाई ‘जुवाको खेल’ भनिए पनि यस वर्ष यो खेल किसानको पोल्टामा पर्न गएको छ ।