• मंसिर २० २०८१, बिहीबार

कविता : नयाँ बिहानी

पुष १५ २०७८, बिहीबार

बिहान हुन्छ पूर्वमा झुलुक्क घाम झुल्किँदा

टलल्ल शैल बन्दछन् छरेर ज्योति टल्किँदा ।

ढलेर रात औ निशा उषासँगै बिलाउँछ
छरेर कान्ति सूर्यले प्रभातमा चियाउँछ ।। १ ।।

गरेर चिर्र चाँचरी बिहानमा कराउँछे
सुरम्य मधुर गानमा रमेर गुनगुनाउँछे ।

उठेर नित्य कर्ममा मनुष्य लाग्नु पर्दछ
सुती विलम्ब हुन्छ रे सखार जाग्नु पर्दछ ।। २ ।।

लिएर भाग्य दीनको बिहान झल्मलाउँछ
भरेर ओठमा खुसी मुसुक्क मुस्कराउँछ ।
छ अन्धकार व्योममा भने छरिन्न रोशनी

निशा चिरेर रातमा सकिन्न हेर चाँदनी ।। ३ ।।

बनेर शीत पातमा टलल्ल टिल्पिलाउँछ
लिएर ताप घामको प्रभातमा बिलाउँछ ।
ढलेर साँझ बेलुकी हुने अवश्य रात हो
जलेर रातको दियो हुने नयाँ प्रभात हो ।। ४ ।।

हरेक घामले नयाँ नयाँ बिहान ल्याउँछ

बनेर फूल जिन्दगी सदैव मग्मगाउँछ ।
मरेर जानु दूर के छ सत्य जो चिहान हो
दिवा अगाडि झुल्किने सदा नयाँ बिहान हो ।। ५ ।।
(छन्दः पञ्चचामर)
(लिखु-६, थानसिङ, नुवाकोट)