राजनीतिक दलमा कस्तो व्यक्ति नेतृत्वमा छ भन्ने कुराले ठूलो भूमिका खेल्दोरहेछ । नेपाली काँग्रेसमा लामो समयसम्म भिजन भएको नेतृत्व हुन सकेन भन्ने बहस छेंडिदै गर्दा यस पटकको चौधौं महाअधिवेसनमा पनि मुख्य नेतृत्व परिवर्तन हुन सकेन ।
काँग्रेसजनले शेरबहादुर देउवाले दल चलाउन नसकेको, विधिको शासन दिन नसकेको आरोप लगाउँथे । नेतृत्व परिवर्तन काँग्रेसको अनिवार्य सर्त हो भन्ने गर्थे । तर अन्त्यमा उनै पात्रहरुले लोभ र लालचको अगाडि घुँडा टेके ।
अहिले नयाँ दृष्टिकोणका साथ नेपाली काँग्रेसलाई हाँक्ने र सुशासन दिने, विकास गर्ने र जनताको आशा जगाउने नेतृत्व चाहिएको छ । दलका अधिवेशनहरु मतदाताहरुको हातमा हुँदो रहेछ । देशको भविष्य केही मानिसको विवेकमा भर पर्दोरहेछ ।
कार्यकर्ताले व्यक्तिपुजा गर्ने र आफ्नो फाइदा हेर्ने गर्दा मुलुकले लामो समयसम्म दुःख पाइरहेको छ । नेपाली जनतालाई अमुक नामको व्यक्ति चाहिएको होइन । जो आए पनि काम गर्न सक्ने व्यक्ति चाहिएको हो ।
अहिले हरेक दलहरुको राजनीतिक साख घटेको छ । राजनीतिक विश्लेषक सुन्दरमणि दिक्षितको शब्दमा ‘सहरी क्षेत्रका नागरिकले अहिलेको नेतृत्वको अनुहार हेर्न नपरोस्’ भनेर टेलिभिजन बन्द गर्ने गरेका छन् भन्ने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको शब्दमा गाउँघरमा नेताहरु जाँदा ‘कुन चोर आएछ’ भनेर जनताहरुले आक्रोश देखाउने गर्दछन् भन्ने छ । लिङदेनको भनाइलाई खण्डन गर्ने क्रममा प्रचण्डले नेपाली काँग्रेसका महाअधिवेशनमा आएका नेता कार्यकर्ताहरुलाई प्रतिप्रश्न गर्न समेत बाध्य भएका थिए ।
के साँच्चै लिङदेनले भनेजस्तो ‘नेताहरु चोर’ हुन् त रु ठूलो जमातले त एकै स्वरमा ‘हो’ भनेर सामूहिक जवाफ दिए । देश विदेशबाट विशिष्ट नेताहरु आएको सभामा दलकै कार्यकर्ताले यसोभन्दा हाम्रा नेताहरुको इज्जत गयो होला कि गएन होला ? उनीहरुको जनआधार देखियो कि देखिएन होला ?
एकातिर कार्यकर्ताहरुमा सक्षमभन्दा पनि गुटका नेतालाई जिताउने र फाइदा लिने अभ्यास चलिरहेको छ भने अर्कोतिर नेतृत्वमा पुगेपछि त्यही समूहको ‘सेवा’ र ‘मेवा’मा नेतृत्वले काम गर्दा योग्य र सक्षम नेतृत्व किनारा लाग्दै गएको अवस्था छ ।
भाग्यवस नेतृत्वमा पुगेपछि दलका आआफ्ना कार्यकर्तालाई जागीर खुवाउने भर्ना स्थलको रुपमा देशका संघसंस्थाहरु प्रयोग भएका छन् । न्यायालय, विद्यालय, विश्वविद्यालय, संस्थान, राष्ट्रियसभा, संवैधानिक अंगहरु लगायतका ठाउँहरुमा ‘राम्रा मान्छे’भन्दा ‘हाम्रा मान्छे’ भर्ना गरिएका छन् ।
यिनै अक्षमहरुका कारण हरेक क्षेत्रहरु आलोचित छन् । कमजोर छन् । तहसनहस छन् । अनि जनताले नेतागणलाई कसरी सम्मान र विश्वास गर्ने रु त्यसैले यस्तो अवस्थालाई बदलेर विवेकपूर्ण काम गर्नसक्ने काँग्रेस मुलुकको आवश्यकता हो ।
नेपाली काँग्रेस नेता शेरबहादुर देउवा यो मुलकको ५ पटक प्रधानमन्त्री भए । उनले गरेका ५ वटा राम्रा कामहरु देखाउन उनकै वरिपरि परिक्रमा गर्नेहरुले पनि सक्दैनन् । हो, देउवालाई भर्याङ बनाएर दूधको तर मार्नेहरुले उनलाई भगवान नै मान्लान् ।
तर साँचो अर्थमा सचेत नागरिकले देउवालाई जनताको माग बुझ्न नसकेको, कुशासन मञ्चाएको, निति, नियम, विधि, विधानजस्ता कुराहरु लत्याएको, दल चलाउन नसकेको, कम्युनिष्टको पुच्छर भएर आमनिर्वाचनमा हँसिया हथौडामा मत हाल्न लगाएको, देश विकासको मार्गचित्र नभएको भन्नेहरु धेरै छन् ।
फेरि उनै देउवालाई भोट दिएर जिताउनेहरु पनि तिनै पात्र छन् । कम्युनिष्ट दलहरुमा पनि यस्तै देखिन्छ । लामो समयसम्म पदमा रहेका असक्षमहरु नै पार्टीको नेतृत्वमा पुगेको देखिन्छ ।
दलका केही संख्यामा रहेमा अन्धभक्तहरुका कारण ३ करोड नेपालीहरु मात्र नभएर आउने नयाँ पुस्ताले समेत दुःख पाउने अवस्था बलियो हुँदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् । यस्तो अवस्थामा काँग्रेसको नेतृत्वले अब्बल नेतृत्व दिन आवश्यक छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर प्रभावकारी काम गर्न आवश्यक छ ।
नेपाली जनतालाई नेतृत्वमा जुन ‘बहादुर’ आए पनि फरक पर्ने थिएन । यदि उसले विकास र जनहितमा काम गर्न सके, भ्रष्टचार रोक्न सके, महङ्गी नियन्त्रण गर्न सके, सुशासन दिन सके, रोजगारीको अवसर सिर्जना गर्न सके, विधिको शासनमा देशलाई अगाडि बढाउन सके, शिक्षा, स्वास्थ्य र प्रशासन सेवालाई गुणस्तरीय बनाउने सके, कृषिमा आधुनिकीकरण, उद्योगीकरण लगायतका क्षेत्रमा काम गर्न सके ।
तर विडम्बना १ हालसम्मको रेकर्ड हेर्दा काँग्रेसको नेतृत्वले उल्लेखित समस्याहरु बुझेको त छ रु भन्ने प्रश्नहरु उठेका छन् । अहिले राज्यको आर्थिक सिन्डिकेट व्यापारी, उद्योगिक र राजनीतिक वर्गको नियन्त्रणमा छ । व्यापारीहरु राजनीतिक पार्टीका दुहुना गाई भएका छन् ।
त्यसैले हरेक बस्तुमा महङ्गी चुलिएको छ । तस्करी, कालो बजारी र भ्रटचारीहरु नेताहरुबाट नै सुरक्षित भएका समाचारहरु आउने गर्दछन् । जताततै विसङ्तिले जरा गाडेको छ । अहिलेका प्रधानमन्त्रीले उल्लेखित समस्याहरु समाधान गर्लान् त ?
उनको ऐतिहासिक कार्यशैलीको मूल्याङ्कन गर्दा पत्याउने अवस्था छैन । त्यसैले देशका समस्याहरु समाधान गर्न देउवाले अहिले नेतृत्वमा आएको नयाँ पुस्ताको नेतृत्वसँग सहकार्य गर्न जरुरी छ । यसै गरुन् ।
बेरोजगारीको समस्या मुलुकमा भयावह छ । युवाहरु बेरोजगारीको कारण अनेक प्रकारका दुव्र्यसनीहरुमा संलग्न छन् । कोही विदेश पलायन भएका छन् भने कोही राजनीतिक पार्टीका भक्त भएर हिंडेका छन् । युवाहरु विदेश पलायनहुँदा गाउँघरहरु मात्र बूढाबूढी र केटाकेटीका बस्ती भएका छन् ।
युवाहरुले विदेशमा रगत र पसिना बगाएर कमाएको विशेषणले यहाँको मन्त्री परिषद् र विधेयकलाई सत्ता, भत्ता, ऐश, आराम र भ्रष्टाचार गर्न रकमको तर्जुमा भइरहेको छ । उल्लेखित समस्या समाधान गर्नसक्ने काँग्रेस आजको आवश्यकता हो ।
काँग्रेसमा पदको लागि तछाड मछाड गर्ने र अस्वभाविक समझदारी गरेर दलको मान, मर्यादा र इज्जत घटाउने स्वार्थी समूहमा परिणत हुन पुगेको छ । स्वार्थ लोकतन्त्रको बाधक हो । राजनीतिलाई कमाइ खाने भाँडो बनाउनु भनेको व्यापारी हुनु हो ।
त्यसैले काँग्रेसजनहरु बदलिन जरुरी छ । इतिहास भजाउने तर काम नगर्ने कांग्रेस चाहिएको होइन । काँग्रेसको घैंटोमा घाम लागोस् । जनताले दिएको अवसरलाई देश विकासमा लगाओस् । यस पटक देउवा सरकार सफल होस् । प्रशंसा गर्न लायक बनोस् ।