• मंसिर १२ २०८१, बुधबार

माओवादी राजधानी थबाङ हिउँले सेताम्य

पुष १५ २०७८, बिहीबार

काठमाडौं । पृथ्वीतलमा रहेका मानिस तथा सबै जीव जीवात्माहरुका लागि मौसमले आजभोली धेरै ठूलो चुनौती दिएको छ । देशव्यापीरुपमा पानीको वर्षात् भइरहेकै छ भने अग्ला टाकुरीहरुमा हिउँका पहाड तयार भएका छन् ।

पानी परेर दैनिक जीवन नै दिक्दारीपूर्ण भएको बेला हिउँमा रमाइरहेका तस्विरहरु डिजिटल मिडिया तथा सामाजिक सञ्जालहरुमा राखिएका कारण मानिसहरुका मनहरु केही हल्का भएका पनि छन् । नेपाल हिमाली मुलुक पनि भएका कारणले हिमाल तथा त्यसका आसपासमा हिउँ पर्नुलाई त्यति नराम्रो मानिंदैन तर हिमालको काखबाट हिउँ पहाडको काखम्मै आइपुग्दा भने रमाइलो अनुभूती धेरैलाई भइरहेको हुनुपर्दछ ।

काठमाडौं वरिपरिका फुल्चोकी, चन्द्रागिरि, नगरकोट लगायतका डाँडाहरुमा हिउँ हेर्न जाने युवाहरुका तस्विरहरु पनि सामाजिक सञ्जालमा आइरहेका छन् । रसुवा, सल्यान, बागलुङ, म्याग्दी, डोल्पा, रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरुमा पनि हिउँ परेका समाचारहरु आइरहेका छन् । हिमाली जिल्लाहरुको कुरै गर्न परेन ।

उता रोल्पाको थबाङमा पनि बाक्लो हिउँ परेको तस्विर स्थानीय अमित घर्तीमगरले फेसबुकमा तस्विर र छोटो भिडियो पनि राखेका छन् । थबाङ हिउँ परेका कारणले मात्रै चर्चामा छैन । यो त नेपालका कम्युनिस्ट पार्टीका नेता तथा ती पार्टीहरुका लागि एउटा आदर्श गाउँपनि हो । खासगरि नेपालका माओवादीहरुका लागि थबाङ विशेष ठाउँका रुपमा चिनिन्छ ।

पञ्चायत कालमै थबाङले प्रजातन्त्रका लागि विद्रोह गरेको थियो । त्यसभन्दा अघि पनि थबाङले धेरैचोटी परम्परागत, गलत संस्कार र राजनीतिका विरुद्ध वैकल्पिक विचार बोकेर आएको हो र आजसम्म पनि थबाङ सोही विचारमा अडिग नै छ । धेरै मानिसहरुले रोल्पाको थबाङलाई माओवादीको राजधानी भनेर चिन्दछन् । त्यो हो पनि । किन कि पञ्चायतकालदेखि प्रजातन्त्रकालमा पनि थबाङले निरन्तररुपमा राजामहाराजहरुको होइन गरिब जनताको पक्षमा आवाज उठायो ।

आवाज मात्रै होइन, थबाङले बन्दुक पनि उठायो र हजारौं मानिसलाई सरकारी जिम्दारहरुको पञ्जामा रहेको राज्यको अधिकार जनताको पहुँचसम्म ल्याउने कार्य अर्थात् जनयुद्धको नेतृत्व गर्यो र गरिहेको छ । जनयुद्धकालमा माओवादीकै कारण चर्चामा रहेको थबाङ आज हिउँ पर्दापनि चर्चामै छ । तर के आजको थबाङ हिउँ परेका कारण चर्चामा छ कि कम्युनिस्ट राजनीतिका कारण चर्चामा छ ? गम्भीर प्रश्न उठेकै छ । शान्ति प्रकृयामा आएसँगै देखिने गरि विभाजित भएको माओवादी आन्दोलनको प्रभाव थबाङमा पनि परेकै छ ।

आज नेपालमा जतिवटा माओवादी पार्टीहरु छन् त्यत्तिकै संख्यामा थबाङमा पनि माओवादीहरु छन् । आज हिउँ परेका कारण थबाङ फेरि पनि चर्चामा आयो । कम्तिमा जनयुद्धमा थबाङ नदेखेकाले आज हिउँ परेका कारणले पनि धेरैले तस्विरमै भएपनि थबाङ देख्न पाए । तर थबाङको चर्चा हिउँका कारणमा मात्रै सिमित गर्नु हुँदैन ।

अबको नेपालको राजनीतिका कारणले पनि थबाङको चर्चा अझै चुलिनु पर्दछ । किन कि थबाङले नेपाललाई अन्यायका विरुद्ध विद्रोह बोल्न र अधिकारका लागि लड्न सिकाएको छ । दर्जनौं सहिद, बेपत्ता र घाइते तथा पूर्णकालीन नेता तथा कार्यकर्ता जन्माएको थबाङले आफ्नो बलिदानीको इतिहासदलाई भुल्नु हुँदैन ।

किन कि थबाङ बीऊ हो, जो नेपालको अन्य जिल्लाहरुमा पनि गयो र फैलियो । त्यकारण आफ्नो ऐतिहासिक विरासतको निरन्तरतामा रहन र थप विकास गर्न सक्यो भने थबाङले हिउँका कारणले चर्चामा आउन पर्ने छैन । ऊ आफ्नै इतिहासको कारणले चर्चामा रहिरहनेछ । त्यसैले जनयुद्धकालमा राताराता झण्डा फरफराइरहने थबाङको रंग आजभोली सदरमुकाम तथा राजधानीहरुतिर सरेको छ ।

राता झण्डा फरफराउने थबाङमा आजभोली सेतो हिउँले ढाकेको छ । थबाङमा हिउँ पर्नु स्वभाविक प्राकृतिक प्रकृया हो भने राता झण्डाको ठाउँमा अन्य किसिमका झण्डाहरु आउनु मानवीय र राजनीतिक कारण हो । त्यसकारण थबाङमा हिउँ पर्नुलाई प्राकृतिक रुपमा बुझ्नु पर्दछ भने बाटो बिराएको माओवादी आन्दोलनका कारण त्यहाँको रंग बदलिनुलाई राजनीतिक कारण मान्दै नयाँ बाटो पत्ता लगाएर अर्को इतिहास रचना गर्ने बाटोमा हिंड्न थबाङको अबको पाइला बन्नु पर्दछ ।

आफ्नै बल र बुतामा नै थबाङ, थबाङ नै रहने प्रयास जारी राख्नु पर्दछ । र देश तथा दुनियाँलाई यहि सन्देश दिने प्रयास थबाङ निरन्तर गरिहनु पर्दछ । र यही संस्कृतिको विकासमा निरन्तर लागिरहनु पर्दछ ।

अझ त थबाङले उत्पादन र पर्यटकीय अवस्थालाई मध्यनजर गर्दै त्यस्तै खाले कार्यक्रमको विकास गर्नुपर्दछ । जसका कारण यसले आफ्नो विरासत कायम गर्दै आर्थिक विकासमा पनि थप योगदान र टेवा पुर्याउन सकोस् । यसका लागि स्थानीय माओवादी नेताहरुले नै विशेष पहल गर्नुपर्दछ । त्यसका लागि राज्यको ढोका ढकढक्याउन पनि पछि पर्नु हुँदैन ।