काठमाडौँ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामी’ ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन् । महानिर्देशक टेड्रोसले भनेका छन्, ‘भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ।’
कीर्तिमानी संख्यामा संक्रमण बढ्नुमा डेल्टा र ओमिक्रोन भेरिएन्ट दुवै प्रमुख कारण रहेको उनको भनाइ छ । ‘ओमिक्रोन धेरै संक्रामक हुनु चिन्ताको कुरा हो । उही समयमा डेल्टाजस्तै यो भेरिएन्ट पनि फैलिइरहेकाले संक्रमणको सुनामी आउन सक्ने जोखिम छ,’ उनले भनेका छन् । त्यस्तै खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन् । डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको उनको भनाइ छ । -एजेन्सी