काठमाडौं । पुस १५ गते बिहीबार गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ यस वर्ष ‘गाई वर्ग’को बिदाई र ‘बाघ वर्ग’को स्वागत गर्दै देशभर भव्यरुपमा मनाइरहेका छन् । हरेक वर्ष पुस १५ गतेका दिन पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतका लागि गुरुङ समुदायले ल्होसार मनाउँदै आएका छन् ।
गुरुङ भाषामा ल्हो को अर्थ ‘वर्ष’ र सार को अर्थ ‘फेरिनु’ हो । यसकारण नयाँ वर्षको आगमनलाई गुरुङहरुले ल्होसार पर्वकै रुपमा मनाउने गरिरहेका छन् । यो वर्ष पनि राजधानी सहर काठमाडौं र देशका मुख्य सहर तथा गुरुङबस्ती भएका गाउँहरुमा ल्होसार भव्य रुपमा आयोजना भैरहेका छन् ।
गुरुङको ल्होसार पर्व ऋतु परिवर्तनसँग जोडिएर आएको छ । हिउँदको अन्त्य र गर्मीको आगमन जनाउन ल्होसार मनाउँदै आएको गुरुङहरु बताउँछन् । सूर्य उत्तरायण हुने र चीसोको मात्रा घट्दै जाने अवसरका रुपमा यसलाई दिइन्छ ।
गुरुङ समुदाय बाहुल्य भएका जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, मस्ताङ, पर्वत आदिमा ल्होसार गाउँगाउँमा भव्य रुपमा मनाइने परम्परा रहेको छ ।
यी जिल्लाको हिमाली भेगतिर बसोबास गर्ने तामाङ र शेर्पा समुदायले सूर्य उत्तरायण हुने, हिउँ पग्लने र जाडो कम हुँदै जाने कुरालाई आधार माने पनि उनीहरुले ल्होसार भने माघ र फागुन महिनामा मनाउने गर्दछन् ।
डिसेम्बर २२ लाई संसारभर सबैभन्दा लामो रात मानिए पनि नेपालमा डिसेम्बरको अन्तिमतिर मनाइने ल्होसार (अर्थात् पुस १५ को दिनलाई) सबैभन्दा लामो रात मानिन्छ । यसमा दिनको केही फरक हुन आए पनि समयऋतुका हिसाबले उही नै पर्दछ ।