• मंसिर ९ २०८१, आईतवार

आयोगको निर्देशन विपरीत माओवादीको ८औँ महाधिवेशनमा बहालवाला शिक्षक नै प्रतिनिधि (नामावलीसहित)

पुष १५ २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् ।

शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।

त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् ।

त्रिविका प्रा.डा. राजनप्रसाद पोखरेल, प्रा.डा. सूर्यबहादुर थापा, प्रा.डा. अर्जुन बास्तोला, डा.जगतकृष्ण श्रेष्ठ, डा. हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा. खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पार्टीका प्रतिनिधि भएर आएका शिक्षकका विषयमा केही उजुरीसमेत परेको र यसमा सम्बन्धित विद्यालय तथा जिल्ला शिक्षा विकास समन्वय एकाइबाट कारबाही प्रक्रिया अघि बढेको बताए । त्रिभुवन विश्वविद्यालयले समेत राजनीतिक गतिविधिमा लागेका शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

माओवादी महाधिवेशन प्रतिनिधि शिक्षकहरू

  • शंकरबहादुर अधिकारी, काठमाडौं
  • झपेन्द्रबहादुर क्षेत्री, बाग्लुङ
  • ऋषि काफ्ले, चितवन
  • प्रा.डा. राजनप्रसाद पोखरेल, त्रिवि
  • प्रा.डा. सूर्यबहादुर थापा, त्रिवि
  • प्रा.डा. अर्जुन बास्तोला, त्रिवि
  • डा. जगतकृष्ण श्रेष्ठ, त्रिवि
  • डा. हरिराम पराजुली, त्रिवि
  • डा. खेमराज जोशी, पोखरा विश्वविद्यालय