• बैशाख १२ २०८२, शुक्रबार

राजसंस्थाको आवश्यकता झनै बढ्यो : अध्यक्ष लिङदेन

पुष १४ २०७८, बुधबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्।

अध्यक्ष लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई अन्य देशबाट आउनसक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरे ।

राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङ्देनले बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए।