‘महासचिव’ पद संगठनमा शक्तिशाली पद मानिन्छ । यो पद सिंगो पार्टी संगठनको हर्ताकर्ता रहने मानिन्छ । त्यसैले पनि होला, महासचिव अन्ततः पार्टीको अध्यक्ष हुन्छ भनेर पूर्वानुमान गरिन्छ ।
सरकारमा गएकामध्ये गृहममन्त्री जो हुन्छ, केही समयपछि त्यो नै प्रधानमन्त्री हुन्छ भन्ने पनि प्रशासनिक वृत्तमा निकै सुनिन्छ । राजनीतिमा त्यसलाई इन्कार गरिएको पनि देखिदैन ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन भैरहेका बेला त्यसभित्र पनि पार्टीको महासचिव को बन्ला भनेर निकै कौतुहलता छाएको छ । राजनीतिक वृत्तमा छाएको बहसलाई नियाल्दा संभावित प्रत्याशीहरुमा माओवादी केन्द्रका संगठन विभाग इञ्चार्ज तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र केन्द्रीय कार्यालयका इञ्चार्ज तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई लिएको देखिन्छ ।
माओवादी केन्द्रमा हाल यो पद युवाहरुमा जाने निस्चित रहेको छ । त्यसो त महाधिवेशन तयारीका लागि निर्माण गरिएको पार्टी सांगठनिक संरचनामा यी दुई युवा नेताहरुलाई केन्द्रीय कार्यालयको नजिक राखेर तयारी गरेको थियो ।
महासचिवको संभावित प्रत्याशीका रुपमा रहेका पुन र शर्माको मनमा महाधिवेशन अघि जिम्मेवारीमा तलमाथि परेको आशंका नपलाओस् भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समान हैसियतको तराजुमा राख्न गरेको प्रयास सामान्य राजनीतिक आँखाले पनि सजिलै नियाल्न सक्छ ।
काठमाडौंमा चलिरहेको राष्ट्रिय महाधिवेशनमा युवा नेता पुन बिरामीका कारण महाधिवेशनमा भौतिक रुपमा सहभागी हुन पाएका छैनन् । तर अर्का युवा नेता शर्मा भने महाधिवेशनमा सक्रिय सहभागी बनिरहेका छन् ।
तात्कालीन अवस्थामा जनयुद्धमा होमिएको नेकपा (माओवादी) पार्टीले भारतको पञ्जावमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् लेनिनवादी सांगठनिक संरचना अन्तर्गत महासचिवको नेतृत्वमा रहने ‘एकल पार्टी पद्धति’ परित्याग गरी ‘बहुलवादी सांगठनिक पद्धति’ अबलम्बन गर्न पुगेको थियो ।
त्यो माओवादी पार्टी संसदमा आएपछि माओवादी केन्द्र र वाम गठबन्धनको सरकार निर्माणसँगै नेपाल कम्युनिष्ट पार्टीहुँदै अदालती परमादेश फैसलामार्फत् पुनः माओवादी केन्द्रमा फर्किएपछि यसले सांगठनिक रुपमा खुला र फराकिलो संसदीय संरचना अंगीकारका लागि महाधिवेशनमा सांगठनिक प्रस्ताव गरेको छ । यो अतिबहुलवादी सांगठनिक जिम्मेवारीअनुसार माओवादी केन्द्रले महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्दैछ ।
त्यसमा अध्यक्ष र महासचिव भने १/१ जना मात्र राखिएकाले यसमा सबैको आँखा लाग्न गएको छ । त्यसका साथै महासचिवको जिम्मेवारी सांगठनिक रुपमा अरु विभाग र जनवर्गीय संगठनभन्दा बलियो हुने भएकाले पनि यो जिम्मेवारी अब्बल मानिन पुगेको हो ।
कुनै पनि पार्टी बहुपदीय प्रणाली जाँदा अध्यक्षपछिको शक्तिशाली पद महासचिवलाई मानिन्छ । अहिले माओवादी केन्द्रमा निर्विकल्प अध्यक्ष हुँदै गरेका प्रचण्डले पुन र शर्मामध्ये कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् होला भन्ने विषय अझैं कौतुहलतामै सिमित छ ।
‘उत्तराधिकारी पनि नदेख्ने’ र ‘लिनप्याओहरु मात्र आफूलाई गिज्याउन आउने’ कुराको बेलाबेलामा सार्वजनिक अभिव्यक्ति दिने प्रचण्डले भित्रभित्रै कसलाई उत्तराधिकारीका रुपमा हुर्काइरहेका रहेछन् भन्ने रहस्य पनि यो महाधिवेशनको समापनसँगै छर्लंगै देखिने भएको छ ।