काठमाडौँ । मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
हिमपातले मनाङको जनजीवन कष्टकार
मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।
अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । “पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने ।
स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए । उनका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् । उनले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताए । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् । यस अघि मङ्सिर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ ।
हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको छ ।
उनका अनुसार, विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।
डोटीमा बाक्लो हिमपात
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।”
अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उनको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोला देउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।
यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जर्नौं सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । उक्त राजमार्गको हिउँ पन्छाउन सडक विभागको डोजर प्रयोग गरिएको प्रहरीचौकी घण्टेश्वर गैराले जनाएको छ ।
म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित
हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा, अन्नपूर्ण गाउँपालिका-६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नम्बर ८ को राम्चेमा पनि हिउँ पर्न थालेको छ ।
बुधबार बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष वीरेन गर्बुजा पुनले बताए । खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारीसाधन आवतजावत गर्न समस्या भएको छ । वर्षात र हिउँले स्याउ, जौ, उवा, फापरबालीलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चडलगायत पशु चौपायालाई गोठमै बाधेर राखेका छन् ।
उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायतका जिल्लामा घुम्ती व्यापारका लागि झरेका छन् । म्याग्दीका किसानले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेँशी झारेका छन् । बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौरी, भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँबस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् ।