काठमाडौँ। काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। ३४ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
मंगलबार राति र बुधबारसम्ममा काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
बलात्कारमा संलग्न अर्का एक जना भने फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ । महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।