काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री आलले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने छ ।”
यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गरिएको थियो । बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउन हुन्छ, कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न तथा निर्माणमा देखिदै आएको ढिलासुस्ती, वेवास्ता, गुणस्तरहित र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिए ।