• बैशाख १२ २०८२, शुक्रबार

जनताकाे मन जित्न नेतामा इमानदारिता, निष्ठा र समर्पण चाहिन्छ : अध्यक्ष नेपाल

पुष १३ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एउटा नेताका लागि इमानदारिता, निष्ठा र समर्पण नै आवश्यक र उचित रहेकाे बताएका छन्। मङ्गलवार काठमाडौँमा भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताको मन जित्न नेताहरूले यी काममा ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘इमानदारिता, निष्ठा र समर्पण नै प्रमुख कुरा हो । यी कुरा छन् भने तपाईँले जनताको मन जित्न सक्नुहुनेछ । तर मान्छे निष्ठाबाट बिचलित हुने गर्दछ, त्यो मान्छेमा इमानदारिता हराएर जाँदो रहेछ । त्यही मानिसमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । ऊ व्यक्तिवादको सिकार हुन्छ । म भन्ने घमण्ड आउँछ, मबाट कहाँ आउँछ ? बा भन्ने आउँछ । त्यो म नै बा हो । हामी त्यस्ता प्रवृत्तिका विरोधी हौँ । यस अर्थमा इमानदारिता, निष्ठा र समर्पणको भावना अघि सारौँ ।’

कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरू सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए । देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको अध्यक्ष नेपालकाे भनाइ छ । उनले वंशाणुगत तानाशाही प्रवृत्ति सकिए पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताए ।

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए । उनले सुदूरपश्चिमको प्रदेश सभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गरे । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताए ।

उनले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताए । सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाउँदा मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको उनकाे भनाइ छ ।

अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मेहनत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए ।