• असार १८ २०८१, सोमबार

तिलिङ्गटारले मनायो ६० औं वार्षिकोत्सव (तस्विरहरु)

पुष १३ २०७८, मंगलवार

काठमाडौँ । राजधानीको धापासीमा अवस्थित सामुदायिक विद्यालय, तिलिङ्गटार माध्यमिक विद्यालयले आफ्नो ६०औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ । साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उत्साहपूर्ण सहभागितामा विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

विद्यालय स्थापना भएको ६०वर्ष पुगेको उपलक्षमा मंगलबार विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शिक्षाको विकाशका लागि पूरै नगरपालिका कटिबद्ध भएको धारणा व्यक्त गरेका थिए ।
शिक्षा क्षेत्रलाई अगाडी बढाउने दायित्व पनि स्थानीय निकायको नै भएको भन्दै नगर प्रमुख अधिकारीले आफू नेतृत्वको नगरपालिका यस विषयमा पूरै सजग भएको बताएका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासमा शिक्षण सिकाई क्रियाकलापलाई सफल तथा प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले विद्यालयले सुचना प्रविधिलाई प्रयोग गरेर शिक्षण सिकाईलाई अगाडी बढाएको देखेर आफूलाई खुसी लागेको बताएका थिए ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीको तर्फबाट आफ्नो धारणा राख्दै कविताका थापाले विद्यालयले विद्यार्थीहरुमा निहित आन्तरिक क्षमता प्रस्फुटन गर्ने वातावरण निर्माण गरेको भन्दै विद्यालयप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा सो विद्यालयका लागि महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई प्रमाण–पत्र प्रदान गरिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो अवसरमा सो विद्यालयमा २ लाख २५ हजार राशीको ‘निरञ्जन अर्याल स्मृति अक्षय कोष २०७८’ स्थापना गर्ने विद्यालयका पूर्वसहायक प्रधानाध्यापक निला अर्याल तथा पूर्वशिक्षक अनिल अर्याल र डा. सुनिल अर्याललाई, २ लाख राशीको ‘हिरा–केशव जेहेन्दार छात्रवृत्ति कोष–२०७६’ स्थापना गर्ने विद्यालयका पूर्वअध्यक्ष महेश्वर शर्मा पौडेललाई, १ लाख राशीको ‘नरमती छात्रवृत्ति कोष–२०६४’ स्थापना गर्ने खेमबहादुर थापालाई र १ लाख राशीको ‘कुम्भलाल थामी स्मृति अक्षय कोष–२०६४’ स्थापना गर्ने कैलाश थामीलाई सम्मान गरिएको थियो ।

त्यसै गरी सो अवसरमा विद्यालयमा महत्वपूर्ण सहयोग गरेको संस्था नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपक बास्कोटा र सो संस्थाका चेतनामा आधारित शिक्षा प्रमुख मिनराज अधिकारीलाई सम्मान गरिएको थियो ।

ती छात्रवृत्तिकोषबाट विभिन्न छात्रवृत्तिको लागि उत्तम ठानिएका विभिन्न विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको थियो भने विद्यालयलाई सिङ्गै नगरपालिकाले सहयोग गरेर यहाँसम्म ल्याएको भनेर नगर प्रमुख लगायत नगरपालिकाका पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अन्तरिम अध्यक्ष तथा टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो विद्यालयको वार्षिकोत्सव कार्यक्रमको अवसरमा समाजसेवी लक्ष्मी कार्कीले संगीतका सामान (ड्रमसेट) र अर्का समाजसेवी वेदनिधि शर्माले विभिन्न विधाका करिब ६० वटा पुस्तक विद्यालयलाई उपहारस्वरुप प्रदान गरेका थिए ।

सहायक प्रधान अध्यापक धुर्व अर्यालका साथै शिक्षक टेकराज गौतमले संचालन गरेको सो कार्यक्रममा टोखा नगरपालिकाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गरेर वातावरणलाई रमाइलो बनाएका थिए ।