वातावरणले समष्टिगत अर्थमा पृथ्वी वरिपरिको परिवेश तथा बाहिरी आवरणको सङ्केत गर्दछ । यसमा मानव, जनावर र वनस्पति समावेश भएका हुन्छन् । यिनीहरु एकआपसमा अन्तरनिर्भर रहेका हुन्छन् ।
विभिन्न वस्तुहरुको आफ्नो अस्तित्वको क्रममा एकआपसमा अन्तरक्रिया हुन्छ । वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरुपले अर्कोलाई प्रभाव पारिरहेको हुन्छ ।
एउटाको गुण तथा मात्राले अर्काको गुण तथा मात्रालाई प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । वातावरण निरन्तर परिवर्तनोन्मुख तथा गतिशील प्रक्रिया हो ।
मानव, अन्य जनावर तथा वनस्पतिको अवस्था एवम् स्वरुपमा परिवर्तन आइरहन्छ । यस्ता परिवर्तनका लागि मानवीय तथा प्राकृतिक दुवै प्रकारका कारणहरु रहेका हुन्छन् ।
प्राणी, वनस्पति, वायुमण्डल, अन्य जैविक तथा अजैविक वस्तुमध्ये कुनै पनि तत्वमा परिवर्तन आएमा अर्को तत्वमा परिवर्तन तथा गतिशीलताको अवस्था देखा पर्छ । दृष्टान्तको रुपमा वनसम्पदा तथा मांसहारी जनावरको अस्तित्वलाई लिन सकिन्छ ।
प्रशस्त मात्रामा वन रहँदा साकाहारी जनावरहरु धेरै हुन्छन् । साकाहारी जनावरको बृद्धिले मांसहारी जनावरको आहाराको आपूर्ति बढ्न जान्छ । तिनीहरुको सङ्ख्या पनि बढ्छ । तर अत्यधिक मात्रामा मांसहारी जनावरहरु बढेमा खानाको समस्या बढ्न गई तिनीहरुको सङ्ख्या घट्न थाल्छ ।
वातावरण सबै प्रकारका सामाजिक, आर्थिक, जैविक, भौतिक, रासायनिक तत्वहरुको योग हो र यिनीहरुको आपसी अन्तरक्रिया र अन्तरनिर्भरताबाट परिवेश बन्दछ । वातावरणमा मानवको वरिपरिका जैविक र अजैविक तत्वहरु समावेश हुन्छन् ।
मानवलाई आवश्यक पर्ने सबै तत्वहरु वातावरणवाट प्राप्त हुन्छन् । खाना, श्वासप्रश्वास लगायत अनेकौं कुरामा मानव वातावरण तथा परिवेशमा निर्भर हुन्छ । वातावरण गतिशील हुन्छ ।
यसमा भएका विभिन्न अवयवहरुको असन्तुलनले अन्य तत्वहरुको अनुपात तथा योगदानलाई प्रभाव पार्ने भएकाले एउटामा आएको असन्तुलनले समष्टिगत सन्तुलनमा प्रभाव पार्छ । मानवका हरेक सामाजिक, आर्थिक, भौतिक आदि किसिमका कार्यले वातावरणमा प्रभाव पार्ने भएकाले मानव वातावरणमा असन्तुलन ल्याउने मुख्य कारक तत्व बनेको हुन्छ ।
वातावरणलाई विभिन्न तत्वहरुले प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारिरहेका हुन्छन् । त्यस्ता तत्वहरु मानवीय तथा गैरमानवीय दुवै छन् । विज्ञान तथा प्रविधिको विकास र औद्योगिक करणले गर्दा वनसम्पदामा चाप परेको छ ।
विभिन्न देशमा वनसम्पदामा आधारित थुप्रै उद्योग व्यवसायहरु चलाइएका छन् । उद्योगहरुको स्थापनाका लागि निर्माण सामाग्रीको रुपमा पनि वन सम्पदा उपयोगमा ल्याइन्छ ।
कच्चा पदार्थका रुपमा काठ ल्याउने, यिनीहरुको उपयोग गर्ने, व्यापार गर्नेजस्ता प्रवृतिले गर्दा वनसम्पदाको विनासमा थप बल पुगेको देखिन्छ । वनसम्पदाको विनासबाट पानीको सतह तल झर्ने, बाढी, पहिरोजस्ता समस्याले पिरोल्ने गरेको छ । वातावरण प्रदुषणकै कारण अनेकौ समस्याको सामना गर्न हामी विवश भएका छौं ।
हाल प्रदुषणको कारण दिल्लीमा अनिश्चतकालीन विद्यालय बन्द गरिएको छ । गत वर्ष मङसीरमा हामीले पनि चार दिन सार्वजनिक बिदा नै दिनु परेको थियो । मानवका लागि वातावरण ज्यादै महत्वपूर्ण हुने भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्छ ।
विज्ञान तथा प्रविधिको कारण मानव आफ्नो सुविधाका लागि धेरै प्रकारका भौतिक पूर्वाधारको विर्माण गर्न सक्ने अवस्थामा पुगेको छ । यस क्रममा सडक, विद्युत गृह निर्माणक । कार्यहरु महत्वपूर्ण छन् । यस्ता कार्यको क्रममा नदीको बहावमा परिवर्तन आउन सक्छ ।
यसका कारण धरातलीय स्वरुप बिग्रन जान्छ । सडक निर्माण गर्दा प्रकृतिमा समायोजित माटो, ढुङ्गाको अवस्थामा परिवर्तन आउँछ । भूक्षयको सम्भावना बढ्छ, बाढी, पहिरो समेत आउन सक्ने हुँदा वातावरणीय समस्या आउँछ ।
प्रविधिको विकासले कृषिको आधुनिकीकरणलाई सहयोग पुगेको छ । तर यस प्रक्रियाले वातावरणीय सङ्कटलाई पनि निम्त्याएको छ । रासायनिक मल, कीटनाशक औषधि, विषादीको प्रयोगले कृषि उत्पादन त निश्चित रुपमा बढेको छ साथै माटोमा भएको जैविक उपयोगी तत्वहरुको विनाश समेत भैरहेको छ ।
माटोमा हालिएका विषादी वर्षाको पानीले बगाएर नदीहरुमा पुग्छ, जसका कारण त्यहाँको प्राणीहरुको जीवन समाप्त हुन पुग्छ । यसले पारिस्थितिक प्रणालीलाई समेत असर गरी वातावरणीय समस्या सिर्जना गराउँछ । मानवले पृथ्वीको गर्भमा रहेको खनिज तत्व आफ्नो हितमा प्रयोग गरिरहेको छ ।
यस्ता पदार्थहरु ठोस, तरल तथा ग्यासको रुपमा रहेका हुन्छन् । तिनीहरुको उत्खनन् तथा प्रशोधन आवश्यक छ र मानवले त्यसो गरिरहेको पनि छ । यस क्रममा धरातलीय स्वरुपमा परिवर्तन आउँछ । खनिज उत्खनन् गरिने क्षेत्रको वरिपरिको वा तथा खेतीयोग्य जमिन नष्ट हुन्छ ।
खनिज पदार्थ प्रशोधनका लागि विभिन्न किसिमका उद्योगहरुको स्थापना गर्नु पर्ने हुन्छ । यसले मानवलाई खनिज पदार्थको उपयोगमा सहयोग त पुग्छ साथै त्यहाँवाट निस्कने फोहरले वातावरणमा ठूलो क्षति गराउँछ । त्यहाँको फोहरका कारण नदी प्रदुषित भई जलचरको जीवनमा असर पुग्छ ।
हाल हरेक देशका कुनाकाप्चामा सवारीका साधनको चाप बढ्दो छ जसबाट मानवले सुविधा पनि लिएको छ । तर यसले वातावरणीय समस्याको सिर्जना पनि गराइरहेको छ । सवारी साधनको इन्धनले गर्दा वायुप्रदुषणको मात्रा विगतको तुलनामा बृद्धि भएर गएको सत्य हामी सबैसामु छदैँछ ।
खासगरी सहरी क्षेत्रमा वायु प्रदुषणको असर ज्यादा रहेको छ । बढ्दो यातायातको साधनको कारण सहरी क्षेत्रमा ध्वनी प्रदुषणको समेत ब्यापक रुपमा बृद्धि भैरहेको छ । वायुप्रदुषणले अनेकौं प्रकारका रोगहरु देखा परिरहेका छन् । श्वासप्रश्वाससम्बन्धी रोगको मुख्य कारण भनेकै वायु प्रदुषण बनेको वर्तमान अवस्थामा हामी सबैले वातावरण जोगाउने कार्यमा सक्रिय हुनु जरुरी छ ।
आजको जल्दोबल्दो विषयको रुपमा अगाडि आएको जलवायु परिवर्तन पनि यही वतावरणसँग जोडिएको छ । खासगरी सम्पन्न देश जसले आद्योगिक विकास गरेका छन् । उनीहरुले कार्वनको उत्सर्जन बढी गरी वातावरणलाई बिगार्ने कार्य गरिरहेका छन् ।
गत महिना मात्र विश्वका १९५ देशहरुको सम्मेलन गरी कार्बन उत्सर्जन कम गर्ने सम्झौतामा हस्ताक्षर गरेर समझदारी कायम गरेका छन् । विकसित देशले आद्योगिकीकरण नभएका देशलाई क्षतिपूर्ति समेत दिने सहमति गरेको छ, जुन सकारात्मक देखिन्छ ।
जलवायु परिवर्तनका कारण नयाँ रोग तथा अनेकौ वातावरणीय समस्याहरु आएको सन्दर्भमा उक्त सम्मेलन हुनु ज्यादै उचित देखिन्छ तर त्यहाँ भएका सहमतिको कार्यान्वयन भने प्रभावकारी रुपमा हुनुपर्ने देखिन्छ ।
वातावरणसँगै जोडिएको जल प्रदुषणले पनि जटिल समस्या बन्दै गएको छ । नदीमा ढल मिसाउने जुन गलत कार्य छ, त्यसले जल प्रदुषणलाई बढाएको छ । कृषिमा प्रयोग गरिने विषादी जल प्रदुषण अर्को कारक तत्व बनेको छ ।
मूलतः वातावरण प्रदुषण हुनुमा हामीले गर्ने कार्य र प्रकृतिप्रति अनुदार बन्नु नै हो । अनेकौ बहानामा वन विनास गर्नु, पानीका मुहानको संरक्षणमा ध्यान नदिनु, पेट्रोलियम पदार्थको प्रयोग बढ्नु, कार्बन उत्सर्जन गर्नुजस्ता मानवीय क्रियाकलापका कारण दिनानुदिन वातावरण विनाश हुँदै गएको छ ।
हामीले प्रकृतिले दिएको सबै वस्तु तथा वातावरणलाई जतनका साथ प्रयोग नगर्नाले थप समस्या देखिएको छ । प्राकृतिक वस्तुहरु वर्तमान समयका लागि मात्र नभई पछिल्ला पुस्ताका लागि पनि हो भन्ने बुझेर सही तरिकाले मात्र उपयोग गर्नुपर्छ ।
हामीले गर्ने विकास निर्माणका कार्य अगाडि बढाउँदा वातावरण नबिगारी र प्रकातिक स्रोतसाधन जोगिने गरी मात्र गर्नु पर्छ, तबमात्र वास्तविक विकास हुनेछ । वातावरणमैत्री विकासलाई मात्र विकास मान्न सकिन्छ । वातावरण बिगार्ने विभिन्न कारक तत्वहरु हुन्छन् ।
फोहर मैला, जल प्रदुषण, वायुप्रदुषण, ध्वनी प्रदुषण लगायतका कारणले वातावरण प्रदुषण हुने हुँदा यी सबै पक्षमा हामीले ज्यादै ध्यान दिनु पर्ने हुन्छ । बढ्दो सवारी साधनबाट हुने प्रदुषण कम गर्न सरकारले विद्युतीय सवारी साधनमा नागरिकको आकर्षण बढाउन कर छुट तथा अन्य सुविधाका कार्यक्रमहरु ल्याउनु पर्छ ।
खासगरी सहरी क्षेत्रमा ज्यादा प्रदुषण हुनुमा सडक किनारामा भएका रुखविरुवा सडक बिस्तारका नाममा विनास गर्नु पनि एक हो । मानवलगायत समग्र जीव र वनस्पतिहरुको जीवनसँग जोडिएको वातावरणलाई सबै मिलेर जोगाउनु पर्छ ।