• मंसिर १३ २०८१, बिहीबार

अलपत्र पर्दै सरकारी सार्वजनिक खर्च मापदण्ड

पुष १३ २०७८, मंगलवार

अहिले सरकारी वृत्तमा निकै बहसमा आएको एउटा कुरा छ, त्यो हो सरकारकै आर्थिक खर्च मापदण्डको कार्यान्वयन हुन नसक्नु । तर यो मापदण्ड कार्यान्वयनका लागि कहाँ र किन समस्या उत्पन्न हुन गयो, यसका बारेमा भने कुनै टिकाटिप्पणी र सुझाव आएका छैनन् ।

यो मापदण्ड निर्माणमा सरोकारवाला मन्त्रालय र तिनका मातहतका विभिन्न विभाग र निकायका प्रमुखहरुको पनि सहमति थियो । तर कार्यान्वयनमा भने यसले एक पाइला पनि अघि सार्न सकेन । फलतः विनियोजित बजेट कार्यान्वयनमा आउन नसकेको भनेर उल्टै अर्थमन्त्रालयमा आरोपको चाङ लाग्न पुगिसकेको छ ।

यसैको झोंकमा हुनसक्छ, अर्थमन्त्री जनार्दन शर्माले सबै मन्त्रालयलाई पौष मसान्तभित्र सम्बन्धित मन्त्रालयमा विनियोजित कूल बजेटको त्रैमासिक खर्चका हिसाबले हुन आउने ३० प्रतिशत बजेट खर्च गरिसक्न ताकेता गरेका छन् । यसले गर्दा उसै त हरेक महिना नियमित रुपमा खर्च हुन नसकेको बजेट एकै पटक खर्च गर्न भनी निर्देशन दिंदा ‘तावाको माछो भुंग्रोमा’ पो पर्ने हो कि भनी आशंका पनि व्यक्त गरिएको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता र पारदर्शिता कायम हुने गरी सरकारले मन्त्रिपरिषदबाट यही आर्थिक वर्षको असोज महिनाभित्रै सार्वजनिक खर्च मापदण्ड कार्यान्वयनको तहमा ल्याइसकेको थियो । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड–२०७८ अन्तर्गत ल्याइएको यो मापदण्ड आफैमा नीतिगत योजनाहरु कार्यान्वयनका लागि सहयोगी हुनेमा कुनै आशंका छैन । तर पनि यो नै कार्यान्वयनमा आउन सकिरहेको छैन ।

यसमा विनियोजित बजेट कार्यान्वयनका केही स्पष्ट मानक तोकिएका छन् । तोकिएका मानकमा उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, तिनले रोजगारी सिर्जना गर्नुपर्ने र ती खर्चहरुमा अनिवार्य दायित्व बहन गर्नैपर्ने कुराहरु समावेश गरिएका छन् । यी कुरा पुँजीगत तथा चालू खर्चमा मितव्ययिता अपनाउनका लागि पर्याप्त मात्र छैनन्, केही दीर्घकालीन हितमा समेत आधारित छन् ।

यो मापदण्ड कानुनतः निर्माण हुनुका साथै विकास निर्माणको केही उत्साह र प्रेरणामा आधारित पनि छ । तर यही मापदण्ड कार्यान्वयनमा आउन सकिरहेको छैन । यसका पछाडि मन्त्रीहरुमा कर्मचारीको सरसल्लाह नलिने बानीले केही गतिरोध सिर्जना गरेको पनि देखिन्छ ।

कर्मचारीमा ‘जे ल्याउँछन् हुन्छ भनिदिउँ’ भन्ने मनशायले काम गरेको देखिन्छ । तर मन्त्रीहरुमा पनि ‘हामीले जे गर भन्छौं, कर्मचारीले त्यही गर्नुपर्छ’ भन्ने अप्रजातान्त्रिक सोचले घर गरेको देखिन्छ ।

अहिले अर्थमन्त्री र राष्ट्र वैंकका गभर्नरका कुरा परस्पर बाझिएर सार्वजनिक भैरहेका छन् । सर्वसाधरणले पनि असजिलो मान्नु पर्ने अवस्था सिर्जना भैरहेको छ । काम कार्यान्वयनमा सम्झौता त होइन, तर नीति र मापदण्ड निर्माणमा नीति निर्माताहरुका बीचमा आपसी सहकार्य र सहमति त जरुरी हुन्छ । कर्मचारी ‘रोबोट’ पनि होइनन् । नेता वा मन्त्रीहरु ‘सर्वज्ञ’ पनि हुन सक्दैनन् ।

यहाँ ‘टेर’, ‘अटेर’ का कुरा होइन, बरु देश र जनताको हितमा के कति काम हुन्छ र गर्न सकिन्छ भन्ने कुरा नै प्रमुख हो । त्यसमा पनि देश विकासको काम भनेको दायित्व मात्र नभएर कर्तव्य पनि हो । यही कर्तंव्यको बोध सार्वजनिक खर्च मापदण्डमा हुन गएको देखिन्छ । जसमा विकास निर्माणका लागि गरिने विनियोजित पुँजीगत खर्चका लागि प्रत्येक महिना न्यूनतम १० प्रतिशतभन्दा कम नहुने गरी नियमितता दिन भनिएको छ ।

हरेक महिना १० प्रतिशत बजेट खर्च गर्न सकिएमा आर्थिक वर्ष अन्त्य हुने असार मसान्तसम्म शतप्रतिशत बजेट खर्च गर्न असजिलो पर्दैन । यसको अनुगमन र समीक्षाका लागि पहिले गरिने चौमासिक समीक्षालाई अहिले त्रैमासिक समीक्षामा बदलिएको छ । यस हिसाबले बजेट खर्चका लागि वर्षमा चारवटा समीक्षा हुन आउँछ ।

यी समीक्षा सार्वजनिक खर्च मापदण्ड कार्यान्वयन हुन नसकेकाले अहिले नतिजाविहीन अवस्थामा छ । यसैले गर्दा नै नीति निर्माता र कार्यान्वयनकर्ताका बीचमा अहिले शीतयुद्धरुपी आरोप प्रत्यारोप चलिरहेको छ ।