काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले पार्टीभित्रै पनि आदिवासी जनजाति र संघीयताविरोधी मानिसहरु रहेको बताएका छन् । एमालेमा केहि नेताहरु आन्दोलनको मुख्य उपलब्धी संघीयताको विरोधी भएपनि संस्थागत रुपमा एमाले परिवर्तनको संवाहक भएको उनले बताएका हुन् ।
आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको दोस्रो बैठकमा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै गुरुङले यस्तो बताएका हुन् । राजधानीमा दुइदिनसम्म चल्ने महासंघको सो बैठकको पहिलो दिन शुभकामना मन्तव्य दिंदै गुरुङले संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता नेपालका आदिवासी जनजातिहरुको ठुलो सफलता भएको समेत उल्लेख गरे ।

संसारमा नेपाल पपुवा न्युगिनीपछि संवैधानिक रुपमा आदिवासी जनजातिहरुले संवैधानिक अधिकार पाएको दोस्रो देश भएको भन्दै उनले आदिवासी जनजातिहरुले यस्तो उपलब्धी एमालेको बलमा पाएको धारणा व्यक्त गरे । आफ्नो पार्टीले नै आदिवासी र जनजातिहरुको लागि लडेको बताउँदै नेपालमा एमालेले नै लोकतन्त्र र सामावेसी र समानताको नारा ल्याएको उनले बताए ।

उनले भने, ‘आन्दोलनको दौरान जातीय मुक्तिको कुरा माओवादीले उठाएको भएपनि समावेसी, समानताको कुरा, लोकतन्त्रको कुरा एमालेले स्थापना गरेको हो ।’ प्रथम संविधान सभाबाट नेपालमा संविधान बनेको भए यो देशमा आदिवासी जनजातिहरुले अहिले पाएको भन्दा बढी अधिकार पाउने थिए भन्ने बताएका उपमहासचिव गुरुङले नेपाली काँग्रेस संघीयता र गणतन्त्रमा घिसारिएर आएको समेत बताए ।

बैठकमा सम्बोधन गर्दै पूर्वमन्त्री एवम् पार्टीका स्थायी समिति सदस्य भानुभक्त ढकालले जनादेश उल्ट्याएर परमाधेशबाट एमालेलाई सरकारबाट सडकमा पुर्याइएको भएपनि जनताको मनमा एमाले नै रहेको धाराणा व्यक्त गरे । नेपालमा नीति र विधिमार्फत् पार्टीको नेतृत्व छान्ने पहिलो पार्टी एमाले भएको सम्बोधनको क्रममा ढकालले दाबी गरे ।

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य पासाङ शेर्पाले नेपालमा आदिवासी जनजातिहरुको पहिचान एमालेले दिएको भन्दै एमालेबाहेक अरु साबिक पार्टीहरु दुःखी आत्माहरुले बनेका पार्टीहरु भएको उनले बताए । पार्टी निकट रहेको सो महासंघको केन्द्रीय समितिको दोस्रो बैठकमा एमालेका पोलिटब्युरो सदस्यहरु दलबहादुर राना, खगेन्द्र राई, लिलबहादुर थापा केन्द्रीय सदस्यहरु निरु दर्लामी, शान्ता चौधरी, दावा लामा, केशव स्थापित, रुक्मिणी राना लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकको अध्यक्षता महासंघका अध्यक्ष गोकुल घर्तीले गरिरहेका छन् भने सञ्चालन महासचिव पेम्बा भोटेले गरिरहेका छन् । बैठकको उदघाटन समारोहमा उपस्थितहरुलाई उपाध्यक्ष कृपाशुर शेर्पाले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।