• असार २५ २०८१, सोमबार

सर्वोदयमा विद्यार्थीले देखाए अनेकौं कला

पुष १२ २०७८, सोमबार

घोराही। दाङको घोराही आसपासका १२ वटा विद्यालयका २४ जना विद्यार्थी सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा जम्मा भए । त्यहाँ ‘पुस्तकालयको महत्व’ विषयक वक्तृत्वकला कार्यक्रम थियो । कार्यक्रम वक्तृत्वकला भनिएपनि त्यहाँ अनेकौं कलाहरु देखिए । जहाँ विद्यार्थीले यतिबेलाको घोकन्ते पठनशैली र विद्यार्थीको क्षमताको प्रदर्शन गरे ।

पुस्तकालय एवम् वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता एवम् संस्थापक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा माध्यमिक तहका विद्यार्थी सहभागी थिए ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार शर्माले असल समाज र नागरिक बनाउन पठन संस्कृतिको विकास अपरिहार्य रहेको बताएका थिए । नातिपनाति पुस्ताका कलिला नानीबाबुलाई सम्बोधन गर्दै शर्माले पुस्तकालयको अधिकतम उपयोग गर्न अपिल गरेका थिए ।

नागरिक जागरण ल्याउन र पठन संस्कृतिको विकास गर्न सर्वोदयले लामो समयदेखि योगदान दिएको उनको भनाइ थियोे ।

उनको मन्तव्य लगत्तै सुरु भएको प्रतियोगिताबाट गोरखा इन्टरनेशनल पब्लिक माध्यमिक विद्यालयका प्रकृति चौधरीले प्रथम स्थान हासिल गरेकी थिइन् ।

उनलाई नगद दुईहजार पाँच सय तथा सम्मान पत्रले पुरस्कृत गरिएको थियो । यसैगरी द्वितीय दीपशिखा माध्यमिक विद्यालयका स्मारिका अधिकारी, तृतीय माध्यमिक विद्यालय रझेनाका पारस खत्री र शान्त्वना दीपशिखा माध्यमिक विद्यालयकै अचित आचार्यले प्राप्त गरेका थिए ।

उनीहरुलाई क्रमशः दोस्रोलाई दुई हजार, तेस्रोलाई एक हजार पाँच सय र सान्त्वना प्राप्त गर्नेलाई एक हजार रुपैयाँ नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने १२ विद्यालयका थिए । सबै सहभागी एक छात्र र छात्रा गरी २४ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

उनीहरुले पुस्तकालयका विषयमा निकै गहकिला प्रवचन दिएका थिए । पुस्तकालय सुरुआतदेखि वर्तमान प्रविधिको विकास हुँदासम्म पनि पुस्तकको महत्व नघटेको बताए । केहिले फरर्र भन्दाभन्दै बिचैमा अड्किन्थे, आकाशतिर फर्केर गम्भीर हुन्थे, यसरी उनीहरु धेरैकुरा कण्ठ गरेर आएको बुझिन्थ्यो ।

कतिपय त बोल्दाबोल्दै अड्किएपछि सरसर गएर बसे । उनीहरु ‘हस्त मेरा भनाइ यहिँ अन्त्य गर्दछु, नमस्कार’ सम्म पनि भन्न बिर्सन्थे । बोल्दा बोल्दै बिचैमा भुलेपछि उनीहरु आफ्नै ठाउँमा फर्किन्थे । केहिले घण्टी बजाउँदा पनि वास्ता गरेका थिएनन् । उनीहरुले अलि बढि कण्ठ गरेका थिए ।

समय सकिएको सङ्केत सिठीको आवाजले दिन्थ्यो । तर वक्ताहरुले कण्ठ गरेको बोलीसक्नु पर्दथ्यो कि त बिचमै छोडेर हिंडिदिनु पथ्र्यो । तर, वक्ताको अध्ययन र खोज निकै गहिरो थियो । खाली योजनावद्ध अध्ययनको सिर्जनशील विचार थिएन ।

अनुभव, अनुसन्धान र त्यसबाट उब्जेको भावना सुनिएन । उनीहरुको कण्ठ गर्ने सिप र पस्किने शैली भने सम्मान गर्न लायक थियो । निर्णायक मण्डलमा बसेका प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटाका अनुसार उनीहरु धेरै सिपालु देखिए ।

राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा र नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केबी मशाल निर्णायकको भूमिकामा थिए ।