• बैशाख १२ २०८२, शुक्रबार

प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु : बयलवास बजार तनावग्रस्त

पुष १२ २०७८, सोमबार

सर्लाही । प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएपछि सर्लाहीको बयलवास बजार तनावग्रस्त बनेको छ ।

आइतबार राती इलाका प्रहरी कार्यालय केशरगञ्जको प्रहरी भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५, बस्ने ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । केशरगञ्ज प्रहरीको ना १ झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जाने क्रममा ईश्वरपुर नगरपालिका–७ विपरीत दिशाबाट आउँदै गरेको ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रामकुमार महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याइएको र यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

रामकुमारको मृत्युपछि आफन्त र स्थानीयवासीले सोमबार बिहानैदेखि बयलवास बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाबारे मृतकको परिवारलाई ढिलो गरी जानकारी गराइएको र घटना शङ्कास्पद भएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय केशरगञ्जमा मृतकका परिवार, स्थानीय अगुवा र प्रहरीबीच सोमबार दिउँसोदेखि नै वार्ता चलिरहेको छ । मृतक रामकुमारले बयलवास बजारमा फेन्सी पलस सञ्चालन गर्दै आएका थिए।