• मंसिर १२ २०८१, बुधबार

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी कार्यनीति

पुष १२ २०७८, सोमबार

(१) औद्योगिक पुँजीवाद कि समाजवाद ? :

नेपाल भखरै सामन्तवाद र अर्ध सामन्तवादको एतिहासिक चरण पुरा गरेर पुँजीवादको नयाँ चरणमा प्रवेश गरेको छ । तर यो पुँजीवाद राष्ट्रिय औद्योगिक नभएर परजीवि, पराश्रित र आसेपासे पोस्ने खालको छ । यसलाई क्रोनिक्यापिटालिज्म भन्ने गरिन्छ । त्यसैले यसलाई अन्त्य गरेर औद्योगिक पुँजीवादको निर्माण गर्दै समाजवादको दिशामा जाने कि ? अहिले नै सिधै समाजवादमा जाने भन्ने गम्भीर सैद्धान्तिक बहस नेकपा (माओवादी केन्द्र) को सम्मेलनमा चल्नु चलाइनु आवश्यक छ ।

(२) नेपाली अर्थतन्त्रको क्षेत्रमा राज्य कि बजार ? :

यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छैन । नेपालको सन्दर्भमा अहिलेसम्म देशब्यापी बजारको विकास हुन सकेको छैन । निर्बाहमुखी अर्थतन्त्रको ठूलो हिस्सा कायम रहेको स्थितिमा हामी एक चरण उद्यमशीलता र बजार बिस्तारमा जोड दिँदै प्रतिस्पर्धी पुँजीवादको आधार निर्माण गर्नु उपयोगी र आवश्यक हुन्छ ।

(३) तीब्र औद्योगिक क्रान्ति किन ? :

आज विश्व चौथो औद्योगिक क्रान्तिको चरणबाट गुज्रिरहेको छ । वाष्फ इन्जिनको युगलाई पहिलो औद्योगिक क्रान्तिको युग मानिन्छ । विद्युत अविस्कारलाई दोस्रो औद्योगिक क्रान्ति र डिजिटल युगलाई तेस्रो क्रान्ति ।

त्यसै गरी २१औं शताब्दीमा डिजिटल, जेनोम र एआईको एकीकृत प्रविधिको युगलाई चौथो औद्योगिक क्रान्ति भनिन्छ । नेपालमा पहिलो औद्योगिक क्रान्ति पनि पूरा भएको छैन । यसकारण हामीले एकैपटक चारवटै औद्योगिक क्रान्ति सप्पन्न गर्ने राज्यले नीति लिनु पर्दछ ।

(४) श्रम कि पुँजी प्रधान ? :

हाम्रो अति अल्पविकसित कृषि र ठूलो ग्रामीण बाहुल्य रहेको अर्थतन्त्रमा श्रम अधिक र पुँजी कम हुने गर्दछ ।नेपालजस्तो यस्तो विषम परिस्थिति कायम रहेको देशमा श्रम र पुँजीको दुवैको सन्तुलन मिलाएर आर्थिक क्रान्ति सम्पन्न गर्ने रणनीति तय गर्नु पर्दछ । दुई दशकसम्म निरन्तर दुई अङ्कको वृद्धिदर हासिल गर्न कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत पुँजीगत लगानी गर्नुपर्ने हुन्छ र त्यसका लागि आन्तरिक पुँजीको अतिरिक्त ठुलो मात्रामा विदेशी पुँजी/प्रविधि लगानी भित्र्याउनु पर्दछ ।

(५) आर्थिक वृद्धि कि वितरण प्रधान ? :

सन २०४० सम्म तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मार्न हामीले हाम्रो प्रतिब्यक्ति गार्हस्थ उत्पादनलाई अहिलेको भन्दा १५/२० गुणा बढाउनु पर्दछ । त्यसका निम्ति अहिलेदेखि निरन्तर दुई अङ्कको वृद्धिदर अनिवार्य पूर्वसर्त हो । वितरणभन्दा वृद्धि गर्ने आर्थिक विकासको रणनीति अख्तियार गर्नु पर्दछ ।

(६) कृषि कि उद्योग प्रधान ? :

परम्परागत कृषि क्षेत्रमा दुइतिहाई श्रमशक्ति अल्झाइराखेर कुनै पनि देश समृद्ध हुन सक्दैन । त्यसैले विकसित देशहरूमा कृषि श्रमशक्तिको अनुपात १/२ प्रतिशत मात्र हुने गर्दछ ।

हामीले पनि औद्योगिक क्रान्तिको आधार तयार गर्न सुरुमा कृषि क्षेत्रको आमूल रुपान्तरण गरेर अतिरिक्त श्रमशक्ति उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण गर्ने, कृषि क्षेत्रको पुँजी सञ्चय कृषिजन्य उद्योगहरुमा लगानी गर्ने र कृषिको मेसिनिरीकरण  गरेर बजार बिस्तार गर्ने निति लिनु पर्दछ ।

साथै, राज्यले उच्च वृद्धिदर हासिल गर्न र उत्पादनशील रोजगारी सिर्जना गर्न गैरकृषिजन्य क्षेत्र वा उद्योग र पर्यटन लगायतका सेवा क्षेत्रको बिकासमा बढी जोड लगाउनु पर्दछ ।

(७) हाम्रो  भूराजनीतिक अवस्था भूत कि अवसर ? :

आजको चौथो औद्योगिक क्रान्तिको युगसम्म आइपुग्दा अमेरिका, चीन र भारतबीच पहिलोको आर्थिक महाशक्ति हुने होडबाजीले हाम्रो अर्थतन्त्र जोखिमा पर्न सक्छ कि भनेर हाम्रो राज्य चिन्तन देखिनु स्वभाविक छ ।

तर दुई छिमेकीको गरी २७४ करोड जनसंख्या र १३.५ ट्रिलियन डलर अर्थतन्त्रको महासागर बीचमा ३ करोड जनसंख्या र ३० बिलियन डलर भएको अर्थतन्त्र टापु नेपालले समुन्द्रमा निस्सासिने होइन कि कुशलतापूर्वक डुङ्गामा तर्न सिपालु हुनसक्नु पर्दछ । नकि तिनवटै देशहरूको छायाको भुतबाट तर्सदै तड्पनु परोस् ।

यसकारण हामी ढोका बन्द गरेर होइन, विदेशी पुँजी/प्रविधि भित्र्याउन र औद्योगिक पुँजीवादको विकास गरी समाजवादको दिशामा जाने नीति  अख्तियार गर्न सक्नु पर्दछ ।