काठमाडौँ। प्रहरीले युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। भिडिओमार्फत अश्लीलता फैल्याएको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले बागलुङको निसिखोला गाउँपालिका-१ घर भइ अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो।
आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।
मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ ।
यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।