• मंसिर ११ २०८१, मंगलवार

निःस्वार्थ सेवाको फल

पुष १२ २०७८, सोमबार

–डेन क्लार्क
यो कथा निकै पुरानो हो । हल्याण्डको समुद्र किनारको एक गाउँमा एक दिन ठुलो आँधी आउने सङकेत आयो । समुद्र किनारमा माछा मार्ने माझीहरुले ठुलो नाउ बनाउँछन् र सामुहिक रूपमा माछा मार्छन् ।

यस्तोमा त्यो दिन एउटा नाउ चाहिँ अलि परै पुगेको थियो । अकस्मात त्यहाँ कालोमैलो भयो । अब त्यहाँ आँधी आउने निश्चित थियो । उनीहरु हतारमा निस्कनुअघि आफुहरुलाई बचाउन समुद्र किनारमा विद्युतीय खबर पठाए ।

आउने आँधी चानचुने नहुने र यसबाट उम्कन नसकिने माझीहरुको निस्कर्ष थियो । त्यसैले उनीहरुले त्यो जहाजलाई बचाउने एउटा स्वयम सेवक दललिई पठाइदिन अनुरोध गरे । जहाजमा रेडियो तरङगमार्फत् सूचना पठाउन मिल्ने सुविधा थियो ।

 

त्यहाँबाट पठाइएको एस.ओ.एस पाउने बित्तिकै समुद्र किनारमा रहेका व्यक्तिलाई बचाउन एउटा दल बाटो लाग्यो । यो गाउँमा स्वयम् सेवक दल हुने गर्दछ । जसले आँधी, हुरी र वर्षाका बेला समस्यामा परेका र डुब्न लागेकाहरुलाई बचाउने गर्छ ।

यो किन पनि जरूरी छ भने उनीहरुको अधिकांश जीवन समुद्र र पानीसँग पंठेजोरी खेल्नुपर्छ र यहाँको समस्याबाट उनीहरु आफैले समाधान गर्नुपर्छ, बाहिरबाट कोही आएर समाधान गरिदिँदैन । सामान्यतया त्यस गाउँमा कुनै महत्वपूर्ण घटना सुनाउनु पर्दा एउटा ठुलो घण्टी बजाइन्छ ।
घण्टी बजेको केही क्षणमा गाउँभरिका मान्छे समुद्र किनारको चौबाटोमा भेला हुन्थे । त्यहाँ मान्छेको भिड एकै छिनमा जम्मा भयो । आधा गाउँ उल्टिएर आएको थियो । भर्खरै समुद्रमा छिरेको स्वयम् सेवक दल र समुद्रमा फँसेका माझीहरुको अवस्था के भयो होला भन्ने ठुलो कौतुहल गाउँका मान्छेमा उब्जिएको थियो ।

यस्तोमा एउटा स्वयम् सेवकले भन्यो– ‘साथीहरुको जहाज अझै त्यहाँ छ र त्यहाँ भएको एक जना व्यक्तिलाई चाहिँ ल्याउन सकिएन । हाम्रो नाउमा एउटा पनि ठाउँ थिएन । यदि त्यो व्यक्तिलाई हामीले नाउमा हालेको भए, नाउ नै पल्टिन्थ्यो । हामीले उसलाई धैर्य गर्न भनेका छौं ।

अब अर्को एउटा टोली गएर उसलाई उद्दार गर्नुपर्यो । समुद्रमै फँसेको व्यक्तिलाई उद्दार गर्न भर्खरै आएको टोली जान सक्दैनथ्यो । उनीहरु गलेर लखतरान भएका थिए । गाउँका मुखियाले चाडै अर्को एउटा टोली बनाएर समुद्रमा ती व्यक्तिलाई बचाउन आदेश दिए । यस्तो अवस्थामा एउटा मान्छेका लागि कसले आफ्नो ज्यान जोखिममा पार्न चाहला ?

तर गाउँको १६ वर्षे ठिटो अगाडि बढे । उनको नाउँ हान्स थियो । हान्सकी आमाले उनलाई पछाडि तानिन् तर उनी समुद्रमा जान दृढ थिए । छोराको जिद्दी देखेर हान्सकी आमाले भनिन्–‘तिम्रो बुवा १० वर्षअघि एउटा सामुद्रिक दुर्घटनामा बिते । तीन साताअघिको यस्तै आँधीमा हराएको तिम्रो भाइ अहिलेसम्म फेला पर्न सकेको छैन । तिमी गयौ र यदि केही भइदियो भने यो संसारमा म कसको सहाराले बाँच्नु ?’

हान्सले भने– ‘आमा ! मलाई जान दिनुहोस् । मैले जानै पर्छ । यदि सबैले एउटा एउटा बहाना बनाएर गएनन् भने के हुन्छ ? यस पटक मलाई मेरो कर्तव्य पूरा गर्न दिनुहोस् । आपतका बेलामा गरेको सेवाले ठुलो काम गर्छ, आमा !

‘हान्सले रुँदै गरेकी आमाको निधारमा मिठो चुम्बन गरे । अनि अँध्यारोतिरको यात्रा सुरु गरे । उनी क्षणभरमै बिलाए । हान्स गएको पनि एक घण्टा बित्यो । यो एक घण्टा हान्सकी आमाका लागि एक युगभन्दा कम थिएन । अन्ततः अँध्यारो कुहिरोबाट हान्सले चलाएको नाउ देखापर्यो ।

अघिल्तिर हान्स मुस्कुराइरहेका थिए । किनारमा व्यग्रताका साथ उभिएको अघिल्लो जहाजको क्याप्टेनले सोध्यो– ‘तिमीले त्यो व्यक्तिलाई भेट्यौ त् ?’ काम सम्पन्न गरेर आएकोमा हान्स निकै खुशी थिए । हान्स गलेर लखतरान भएका थिए ।

नाउबाट ओर्लिएर लामो स्वास फेर्दै समुद्र किनारमा थुचुक्क बस्दै भने– ‘मैले भेटें । बरु मेरी आमालाई सुनाइदिनुस् कि त्यो व्यक्ति अरू कोही होइन, मेरै दाइ पावेल रहेछ !’