• बैशाख १२ २०८२, शुक्रबार

सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको पाइप पड्कँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते

पुष १२ २०७८, सोमबार

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ मा निर्माणाधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पानी परीक्षणको क्रममा पाइप पड्कँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत उत्पादनको अन्तिम तयारी अवस्थामा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप पड्कँदा दुई जना इन्जिनियर मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार अपरान्ह फलामको पाइपमा पानी हाल्ने क्रममा सो पाइप पड्किएपछि उक्त घटना भएको हो । घटनामा माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्ष्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए ।

घटना लगत्तै बेहोस भएका उनीहरुलाई ओखलढुंगा अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए । घटनामा हाईड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर मोहम्मद रईन घाइते भएका छन् । उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।