• मंसिर ७ २०८१, शुक्रबार

रोल्पाली किसानको सक्रियताले कृषि क्षेत्रमा पलाएको आशा

पुष ११ २०७८, आईतवार

लिबाङ । कालिकोटको खाँडाचक्र नगरपलिकाको वडानम्बर ११ बरातुमा जन्मेर बाल्लेमा विद्यार्थी जीवन बिताएको । काठमाडौंको चाहना एकेडेमीमा पढेर, कालिकोटबाट करिअर बनाएर र फेरि काठमाडौं मै गएर होटल व्यवस्थापन पढेर ।

फेरि रोल्पाको नेपाल राष्ट्रिय नमूना माविमा प्राविधिक तथा व्यवसायिक विद्यालय अध्ययन गरि अहिले कृषि क्षेत्रमा कालिकोट, सुर्खेत र रोल्पादेखि देशको विभिन्न ठाउँमा कृषिको सम्भाव्यता अध्ययन खोज्दै हिँडिरहेका छन् । कहिले भ्रमण त कहिले किसानलाई आफूले जानेका कुरा सिकाउँदै, त कहिले आफू सिक्दै आफ्नै देशमा केही गर्न खोज्दै छन् । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको वडा नं २ भित्रिगाम समुन्द्री सतहदेखि १३०० देखि २५०० मिटरसम्म पर्दछ ।

गाउँको एउटा कृषि समूहले यहाँको सम्भावना के के हुन सक्छ ? हामीलाई भन्दिनु पर्यो भनेर अनुरोध गर्यो । यो ठाउँमा जानका लागि गाडीमा आउँदै गर्दा देखिएका दृष्य र भूगोल हेर्दा कृषिका लागि सो ठाउँमा धेरै कुराको सम्भावना देखिन्छ । यो समाजको दाँते ओखर लगाउने र यो ठाउँलाई नै पकेट क्षेत्र बनाउने गाउँलेको विचार रहेको रहेछ ।

मैले यो गाँउमा घुम्ने क्रममा आफूले जानेको कुरा सिकाउने गरें र केही किसानबाट पनि सिक्ने अवसर पाएँ । यस कृषि समूहको अध्यक्ष आशामा बुढा हुनुहुँदो रहेछ । यो समूहका सबै सदस्य नै राम्रो र केही गरौं भन्ने खालको सोच बोक्नु भएको पाइयो । यहाँका किसानहरुको गुनासो के रहेको छ भने हामीसँग स्थानीय तहको सरकार छ, जिल्ला कृषि विकास कार्यालय छ, तर पनि अहिलेसम्म कुनै प्राविधिक पनि नआएको र प्राविधिक नै नचिनेको बताउनु हुन्छ ।

हामीलाई कृषिमा केही गर्ने सोच हुँदाहुँदै पनि कसैको सहयोग छैन सल्लाह सुझाव नपाएकोले हामीले आफैले कृषि प्राविधिक बोलाएका हौं भन्नु भयो । हजुरहरुको यो जोस जाँगर कहिलै पनि नहराहोस्, अझै पनि मैले गर्न सक्ने सहयोग गर्नेछु । आफू कृषि पढेको र सुनेको र त्यो भन्दा पनि आफू किसानको छोरा पनि भएकोले कसैले कृषि गर्छु भन्दा साह्रै खुसी लाग्छ । म आफूले जानेको कुरा किसानलाई सिकाउने पनि गरेको छु । कृषि क्रान्ति गर्नुपर्छ भन्ने विचार त छ तर के गर्नु म एकजनाले चाहेर के हुन्छ र ?

कृषिको विकास र बजारीकरणका लागि राज्यका सम्बन्धित निकायले केहि राम्रो कदम चलेको अझै पनि देखिएको छैन । हुने खाने र आआफ्नो मान्छेलाई मात्र अनुदान दिने गरेको पाइन्छ तर वास्तविक किसान भने जहिले पनि पछाडी हुनुपर्ने जस्ता समस्या छँदैछन् । यो देख्दा कहिलेकाहिँ भित्रैबाट मन दुखेर आउँछ । यस्तै प्रवृत्तिले गर्दा युवाहरू विदेशिन बाध्य भएका हुन् । सरकारी निकायबाट कुनै राम्रो खालको गरीब र किसान हितको काम गर्न सकिएको छैन ।

सोझो, गरीब र पढ्न नजानेको किसानलाई राज्यबाट आफूले पाउने सेवा र सुविधा बारे थाहा नै हुँदैन । थाहा भएपनि भए नभएका सरकारी प्रक्रियाले झञ्झट हुने र आफूले नसक्ने भएकोले यस्तो कुरामा हामी लाग्न सक्दैनौं भन्नुहुन्छ । सरकारको आर्थिक सहयोग यस्तै जोस जाँगर भएका र वास्तविक किसानलाई हुने गरी किसानको बारीमा आएर अनुगमन गरी त्यहाँको समस्या सहितको सल्लाह र सुझाव दिएर त्यही फिल्डमा वास्तविक किसानको समस्या बुझेर अनुदान र सहयोग गर्ने नीति अब नेपाल सरकारले ल्याउनु पर्छ ।

यो ठाउँमा आलु, मकै, कोदो, जौ, जस्ता खाद्यान्य बाली मात्र लगाउँदै आइएको छ तर पछि गाउँका केहि अग्रजले अब फलफूलतिर पनि जाने सोच राख्नु भएछ । यो ठाउँमा ओखर, टिमुर, आरु, नास्पती जस्ता धेरै फलफूल खेतिको पनि सम्भावना छ । उहाँहरुले ओखर खेती गर्ने जुन सोच बोक्नु भएको छ, त्यो निकै नै राम्रो छ । अझै अरु अरु खेति गर्नेतिर पनि सोच राख्दा राम्रो हुनेछ । अबका दिनमा पनि यो ठाउँ अझै कृषि क्षेत्रमा राम्रो भएको सुन्न पाउनु पर्दछ । त्यतातिर जागरुक किसानहरुको ध्यान जावस् । जय कृषि, जय किसान, जय देश ।