काठमाडौँ । केही वर्षदेखि नेपालको राजनीतिमा एकदम चर्चाका साथै विरोधको झट्का खेपिरहेको अमेरिकी कार्यक्रम एमसीसी विरुद्धका हरेक दिनजसो कार्यक्रम भएर जनस्तरमा यसको व्यापक रुपमा विरोध भइरहेको देखिन्छ । यसको विरोध र समर्थनमा नेपालका राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु विभाजन भएका देखिन्छन् ।
नेपालमा सो अमेरिकी परियोजना एमसीसीलाई लागु गर्नुहुँदैन भनेर राजनैतिक पार्टीका नेतादेखि कार्यकर्ता मात्रै होइन सर्वसाधारणले समेत विभिन्न आन्दोलनका कार्यक्रम सहित प्रदर्शन गर्ने गरेका छन् । हालका दिनहरुमा सो परियोजनाको विरोधका लागि नेपालमा हरेकदिन जसो कहिँ न कहिँ कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन् । यसैबीच एक कार्यक्रमका वक्ताहरुले अमेरिकी सहयोग नियोग भनिएको एमसीसी परियोजना कुनैपनि हालतमा नेपालमा लागु हुन नहुने धारणा व्यक्त गरेका छन् ।
नेपाल–चीन जनमैत्री प्रतिष्ठानले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । संघीय राजधानी काठमाडौँमा आयोजित अमेरिकी प्रजातन्त्रको यथार्थ र एमसीसी बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग नियोग भनिएको सो एमसीसी लागु भए नेपाल देशको स्वतन्त्र र सार्वभौम अस्तित्व नै समाप्त हुने भएकोले यसको खारेजीको लागि सम्पूर्ण नेपाली जनता एकढिक्का भएर संघर्षमा उत्रनुपर्ने बताए ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालया सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले नेपालमा एमसीसी लागु गरे देश एउटा खतरनाक दुष्चक्रमा पर्ने विषयमा जोड दिए । उनले अमेरिकाले लागू गरेको प्रजातन्त्रले संसारका धेरै भन्दा धेरै देश र मानिसहरुमा लुटपाट मच्चाएर आतंक फैलाएको बताए । अमेरिकाले पैसा, सेना र प्रविधि देखाएर संसारका मानिसहरुलाई शोषण गरेको भन्दै नेता बास्तोलाले भने, ‘रकम देखाएर नेपाल लुट्न अमेरिका यहाँ आउन चाहेको छ ।’ पुँजीवादले सधैं सैतानका बंगाराको बीऊ छर्ने गर्छ भनेर कार्ल मार्क्सले भनेको स्मरण गर्दै उनले अगाडी भने,‘अहिले पनि अमेरिका एउटा पुँजी देखाएर नेपालमा सैतानका बंगाराको बीऊ रोप्न आउन खोजेको छ ।’
उनले संसारमा जहाँ अमेरिका पसेको छ, त्यो देश खरानी भएको भन्दै कुनैपनि हालतमा अमेरिकाको कानुन यो देशमा लागु हुन नहुने धारणा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा.भीम रावलले सो अमेरिकी सहयोग नियोग भनिएको एमसीसी सम्झौताका बुँदाहरु देखाउँदै सो परियोजना कुनैपनि हालतमा देशको हितमा नभएको धारणा व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतामा नेपालको हित विपरित कुरा कहिँपनि नलेखिएको भनेर भनेको सन्दर्भ कोट्याउँदै रावलले प्रधानमन्त्री देउवालाई सो एमसीसी सम्झौताको मूलप्रतिको पृष्ठ १० को धारा ५ ख को ३ पढेर कुरा बुझ्न सल्लाह दिए । उनले भने,‘सो एमसीसी देशको राष्ट्रिय र सार्वभौम सत्ताको विरुद्धमा छ ।’
एमसीसी अमेरिकाको सैन्य रणनीति हिन्द प्रशान्त रणनीतिकै अंग भएको हुनाले कुनैपनि राष्ट्रभक्त जनताले यसको विरोध गर्नुपर्ने उनको धारणा थियो । अमेरिका जहाँ पसेपनि विकास नभएर विनास भएको बताउँदै विकासको बहानामा नेपालमा आएर उसले विनास गर्न चाहेको बताए । एमसीसी नेपालमा लागु भएको खण्डमा नेपाल शक्ति केन्द्रहरुको क्रिडास्थल हुने भएकोले कुनैपनि हातलमा एमसीसी खारेज गरेर नेपाल जोगाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्व राजदुत लिलामणि पौडेलले अमेरिकी कानुन नेपालमा लागु गर्ने उद्धेश्य सहित एमसीसी यहाँ आउन खोजेको बताउँदै एमसीसीका सर्तहरु राष्ट्रियताको विरुद्धमा रहेको बताए । सो अन्तरक्रिया कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका सह-प्राध्यापक डा.खगेन्द्र प्रसाईंले २–४ अरब पैसा र कसैको कमिसनको लागि देश बन्धक राख्न नसकिने बताउँदै अमेरिकाको पुँजीवादले आफूलाई मरणासन्न अवस्थाबाट बचाउन सकिन्छ कि भनेर एमसीसी ल्याएको बताए ।
एमसीसीको कुनैपनि चीज परिवर्तन गरेपनि त्यसलाई नेपालमा लागु गर्न नहुने उनले बताए । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालको कानुन अनुसार नेपालमा एमसीसी लागु गर्न नमिल्ने धारणा व्यक्त गरे । अधिवक्ता भण्डारीले नेपालमा एमसीसी जस्तो कुनैपनि कार्यक्रम लागु गर्नु चालु संविधानको मर्म र भावना विपरित भएकोले सो लागु गर्न नहुने बताए । कथं सो एमसीसी लागु भइ नै हालेपनि नेपाली जनताको अगाडी अमेरिकाले हार खाने निश्चित भएको भण्डारीको भनाई थियो ।
विगतको जनयुद्धमा नेपालको जनमुक्ति सेनासँगको लडाइँमा अमेरिकाको रेञ्जर बटालियनले युद्धमा हारेको स्मरण गर्दै फेरि पनि त्यस्तो अवस्था आए अमेरिकाले नेपाली जनतासंँग हार्ने निश्चित भएको भण्डारीको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता नरबहादुर कार्कीले सो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा कार्कीले एमसीसी अनुदान हो भने नेपालको विद्यमान कानुन र संविधान माथिको हैसियत माग गर्नुको कारण के ? भनेर प्रश्न उठाएका छन् । अमेरिकी सैन्य रणनीति अन्तर्गत एमसीसी परियोजना आएकोले यसलाई कुनैपनि हातमा नेपालमा लागु गर्न नहुने विचार कार्यपत्रमा कार्कीले व्यक्त गरेका छन् ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भेषराज भुषालको अध्यक्षतामा भएको थियो भने संचालन नारायण न्यौपानेले गरेका थिए ।