काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत बिन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ।
‘कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो। गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो। गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो,’ प्राधिकरणले भनेको छ। प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
आव ०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव ०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो। तर, आव ०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो।
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए। उद्योगहरूमा विद्युत् आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालू आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले जानकारी दिए।